प्योङयाङ-उत्तर कोरियाको शक्तिशाली नेता किम जोङ उन यहाँको वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्ष भएको सोमबार बताइएको छ । वर्कर्स पार्टीको एक युगमा एक पटक गरिने सम्मेलन (कँग्रेस) बाट आफ्नो नेताको रुपमा ३३ वर्षीय उनलाई ल्याएको हो।
पहिलो पटक विदेशी पत्रकारलाई कोरियाली सम्मेलन दिइएको प्रवेशमा पत्रकारहरुले उक्त पार्टीको लोगो अङ्कित राता तथा सुनौला ब्यानरले झकिझकाउ पारिएको सभाहलको दृश्य सहितका गतिविधि लिएका तथा प्रसारण गरेका थिए । प्रायजसो कालो पहिरनमा देखिने नेता उन पार्टीको नेतृत्व लिएपछि पनि कालै पहिरन (सुट र टाई) मा स्टेजमा देखिएका थिए ।
वर्कर्स पार्टीले ३६ वर्षको लामो अन्तरालपछि शुक्रबारदेखि आयोजना गरेको सम्मेलनले किमलाई पार्टी नेताको वैधानिकता दिएको हो । किमले उत्तर कोरियाको सत्ताको उत्तराधिकारीका रुपमा नेतृत्व लिएपछि विभिन्न समयमा गरी चार वटा आणविक परीक्षण प्योङयाङले गरिसकेको छ भने पाँचौँ परीक्षण पनि गर्नसक्ने तयारीमा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्योङयाङ स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।
परीक्षणका लागि उत्तर कोरियाको पुङ्ग्यैरी आणविक परीक्षण स्थलमा तयारी भइराखेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् । सम्मेलनले प्योङयाङले आफ्नो सार्वभौमिकतामाथि अर्को आणविक शक्तिबाट खतरा नआउँदासम्म आफ्नो तर्फबाट कसैलाई आणविक आक्रमण नगर्ने बताउँदै विभाजित दुई कोरियाबीच एकीकरण प्रयास जारी राख्ने बताएको छ । तर दक्षिणले युद्धलाई रोजेमा एकीकरणविरोधी शक्तिलाई निर्दयीपूर्ण तरिकाले साफ गर्न प्योङयाङ पछि नहट्ने सम्मेलनले निर्णय लिएको बताइएको छ ।
प्योङयाङको प्रस्ताव अस्वीकार
दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाको सत्तारूढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कँग्रेसको सम्बोधनका क्रममा कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने बताएका थिए ।
राष्ट्रियरुपमा एकीकरणका लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्त गरेका थिए । उनले आफ्नो सम्बोधनमा दुवै राष्ट्रले एकअर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एकआपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्ने बताएका थिए । तर त्यस प्रस्तावप्रति विश्वास गर्न सकिने अवस्था नरहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले हिजोको सो प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।
उत्तरले यसरी आफ्नो सम्बोधनमार्फत् दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको थियो तर सोमबार आएको दक्षिणको यस अभिव्यक्तिबाट भने यो अवस्था कायम रहन नसक्ने देखिएको समाचारमा जनाइएको छ ।


तपाईको प्रतिक्रिया :