कंगना रानावत र हृतिक रोशनबीचको भाले जुधाइले तत्काल निकास पाउने छाँट देखिएको छैन । कुनै बेलाका असल साथीहरूका माझमा उत्पन्न भएको अविश्वास यति बाक्लिँदै गइरहेको छ, कुरो कानुनी प्रक्रियासम्म पुगेको मात्र छैन कि, परिवार सदस्यले पनि यसमा हामफालेका छन् ।
यति बेलै चाहिँ कंगनाका डयाड छोरीको प्रतिरक्षाका लागि सार्वजनिक बयानबाजीमा उत्रिएका छन् । हृतिकले मात्रै नभई कंगनाका एक्स–ब्वाइफ्रेन्ड अध्ययन सुमनले अभिनेत्रीका बारेमा निकै रहस्य खोलेकामा रिँगाइमा परेका कंगनाका डयाडले भनेका छन्, ‘मान्छेहरूले मेरी छोरीको सफलता पचाउन नसकेकाले उसको विरुद्धमा जे पायो त्यही भन्दै हिँडेका हुन् ।’
उनको आरोप गतिलो भए पनि वा नभए पनि एउटा बाबुका रूपमा स्वाभाविक चाहिँ छ नै । अध्ययनले हालैको एउटा भारतीय मिडियासँगको दुर्लभ अन्तरवार्तामा कंगनामाथि भयंकर आरोप लगाएका थिए । आफूसँग रिलेसनसिपमा रहेका बेला अभिनेत्रीले आफूलाई वशमा पार्न काला जादू गरेको उनले दाबी गरेका थिए । कंगनाले आफूलाई रगत खुवाउने गरेको, शारीरिक–मानसिक दुव्र्यवहार गर्ने गरेको पनि उनले ठोकुवा गरेका थिए । बलिउडमा जमेकी आफ्नी छोरीविरुद्ध यस्तो सुन्नुपर्दा कंगनाका डयाडले दिउँसै अँध्यारो देख्नु अन्यथा होइन ।
कंगना–हृतिक सिँगौरीले यी दुईलाई मात्रै डिस्टर्ब गरेको छैन । अरू धेरैजसो बलिउडकर्मीलाई यो अवस्थाले कठिनाइमा पारेको छ । कोही एकजनाको पक्षमा लागेर अर्को पक्षको आँखाको कसिंगर बन्न नचाहने उनीहरूले यो झगडा चाँडै टुंगोमा पुगे हुन्थ्यो भन्ने चाहिरहेका छन् । जस्तो कि, ज्याकलिन फर्नान्डिज । यी श्रीलंकाली सुन्दरी कंगना–हृतिक विवाद छिट्टै साम्य हुनेमा आशावादी छिन् ।
‘यस्तो विवादले उनीहरूलाई कति कठिनाइमा पारेको छ भन्ने हमी अनुमान गर्न सक्छौँ,’ उनले भनिन्, ‘कंगना–हृतिक चाँडै यसबाट बाहिर आउनेछन् भन्नेमा विश्वस्त छु ।’
अभिनेता सिद्धार्थ मलहोत्राले भने यो ती दुईको व्यक्तिगत विषय रहेको टिप्पणी गर्दै थपे, ‘यो कसैको पर्सनल म्याटर हो । यसबारे मलाई केही जानकारी छैन र मैले मुख खोल्नु उचित पनि हुन्न ।’
उता, इमेलमा एकअर्कालाई जथाभावी भनिएको भन्दै सुरुमा कानुनको सहारामा पुगेका हृतिकले कंगनाले पत्रकार सम्मेलन गरेर आफूसँग माफी माग्नुपर्ने माग गरेका छन् । उनले दुवैबीचको कथित प्रेम सम्बन्धबारे पनि कंगनाले प्रस्ट पार्नुपर्ने भनेका छन् । यसको बदलामा कंगनाले उनैलाई अर्को नोटिस थमाएकी छन् र हृतिकले आफूलाई गाली–बेइज्जती गरेको आरोप लगाएकी छन् ।



तपाईको प्रतिक्रिया :