वीरगन्ज: 'बड्का भाइसाहब रिसाउँछन्, त्यसैले हामी त्यो चर्पीमा जान्नौं', वीरगन्ज २५ मनियारीस्थित दलित बस्तीकी तपियादेवी मुसहरले भनिन्, 'बिहान बेलुका खेतमै शौच गर्छौं।' वीरगन्ज उपमहानरपालिका २५ मनियारीको दलित बस्तीमा मुसहर र डोम जातिका करिब ४० घरधुरी छन्।
आर्थिक रूपले विपन्न मुसहर र डोम जाति बस्ने दलित बस्तीका तीनवटा घरधुरीमा मात्र शौचालय छ। बाँकी धुरधुरीका दलित शौच गर्न बिहान बेलुका खेतमा धाउने गर्छन्। जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दलित बस्तीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाइदिएको छ।
दलित बस्तीका मुसहर र डोमहरू दिसापिसाब गर्न शौचालयमा जादैनन्। उनीहरू दिसापिसाब लागे खेततिरै दौडन्छन्।दलित बस्तीछेउमै यादव जातिको बस्ती छ। यादव समुदायका हुनेखानेहरूको डरले दलितले शौचालय प्रयोग नगरेका हुन्।
स्थानीय जनार्दन यादवले दलितहरूलाई तल्लो जातको भनेर शौचालय प्रयोग गर्न नदिएको चौकी राम चमारले बताए। 'यादवले शौचालयमा ताल्चा मारेर राख्छन्', चमारले भने,' डरले हामी केही बोल्दैनौं, दिसा गर्नुपरे खेतमा जान्छौं।'
दलित बस्तीका खेदु मुसहर भन्छन्, 'मालिक (यादव) हरूको हुकुम चल्छ', उनीहरू रिसाउँछन्, त्यसैले शौचालय जान डर लाग्छ।' 'खुला ठाँउमा दिसापिसाब गर्ने रहर हामीलाई पनि छैन', उनले थपे, 'मालिकहरूको हुकम भयो भने हामी पनि शौचालय प्रयोग गरिहाल्छौं।'
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बनाइदिएको सार्वजनिक शौचालय यादव बस्तीकै जनार्दन यादवले कब्जामा लिएको दलितको भनाइ छ।
उपमहानरपालिकाको ऐलानी जग्गामा सार्वजनिक शैचालय बनाइएको भए पनि यादवले भने उक्त जग्गा आफ्नो भएको दाबी गर्दै आएका छन्।
'मैले नै दिएको जग्गामा सार्वजनिक शौचालय बनेको हो', यादवले भने, 'दलितले फोहोर गरिदिन्छन्, त्यसैले शौचालयको रेखदेख मैले नै गर्दै आएको छ्, ताल्चा चाहीँ लगाएको छैन।'
मनियारीमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियान सञ्चालनमा छ। मनियारीमा रहेका कुल आठ सय ८७ घरधुरीमध्ये आठ सय ११ घरधुरीमा शौचालय बनेर प्रयोगमा आइसकेको छ। आर्थिक रूपले अति विपन्न दलित बस्तीका मुसहर र चमारहरूले आफ्नो घरमा शौचालय बनाउन सक्ने अवस्था नभएकाले नै जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले उनीहरूलाई नै लक्षित गरेर सार्वजनिक शौचालय बनाइ दिएको हो।
तर सार्वजनिक शौचालयमा दलित बस्तीका मुसहर र चमारले दिसापिसाब नगरिदिएका कारण खुला दिसामुक्त क्षेत्र घोषणा अभियान नै अप्ठयारोमा परेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति फूल महम्मद मियाले बताए।
'अरू सबै टोलका घरधुरीमा चर्पी बनिसकेको छ', उनले भने, 'अब दलित बस्तीमा मात्र खुला स्थानमा दिसा गर्ने समस्या छ यसले गर्दा अभियान नै संकटमा परेको छ।' सार्वजनिक शौचालय प्रयोगमा देखिएको समस्या सामधानका लागि सर्वपक्षीय भेला बोलाउने तयारी गरिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्साका फिल्ड सुपरभाइजर उपेन्द्र ठाकुरले बताए।


तपाईको प्रतिक्रिया :