स्ववियु चुनाव गराउन त्रिवि तत्पर : उपकुलपति
विद्यार्थीले पार्टीको दलालीभन्दा विचारको प्यानलमा सोच्नुपर्छ : विज्ञ
वैशाख २०, २०७३- राजधानीको व्यस्त सडक प्रदर्शनी मार्गमा विद्यार्थी–विद्यार्थीबीच झडप हुन छाडेको धेरै भइसक्यो । रत्नराज्य र ल क्याम्पसमा तनाव हुन छाडेकोले वरपरका व्यापारीलाई सायद हल्का महसुस भएको हुनसक्छ । कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस, शंकरदेव, अस्कल, पीके, मिनभवन, पाटन, सानोठिमी, भक्तपुर क्याम्पसहरुमा विद्यार्थी संगठनहरुको झुण्ड–झुण्डले लफडा गरेको देख्न र सुन्न नपाएको पनि धेरै भयो । किनभने स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुन नसकेको आठ वर्ष हुँदैछ ।

यो वर्ष स्ववियु चुनाव हुने सम्भावना पनि टर्दैछ । विद्यार्थी संगठनहरुबीच मतैक्य नभएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यही वैशाखबाटै परीक्षा तालिका घोषणा गरिसकेको छ । यसअघि त्रिवि पदाधिकारीले चैतभित्र स्ववियु चुनाव गराउने बताएका थिए ।

कम्तिमा यही वैशाखमा हुनुपथ्र्यो तर विद्यार्थी संगठनबीच स्ववियु निर्वाचन निमावलीबारेमा विवाद बढेपछि त्रिविले चुनाव घोषणा गर्न सकेन । यसअघि २०६५ सालमा स्ववियु चुनाव भएको थियो । २०६९ सालमा स्ववियु नियमावली परिवर्तन गरी चुनावमा उम्मेदवारी दिने विद्यार्थीको उमेर हद २८ वर्ष हुने भनिएको छ । उक्त उमेर हद दोस्रो निर्वाचन अर्थात् २०७२ वैशाख १ गतेबाट लागू हुने भनिएको थियो । तर, उक्त नियमावलीअनुसार अहिलेसम्म स्ववियु चुनाव हुनसकेको छैन ।

त्रिविले स्ववियु चुनावका निम्ति बोलाएको विद्यार्थी संगठनहरुसहितको संयुक्त बैठकमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले उमेर हद लागू हुन नहुने, निर्वाचन प्रत्यक्ष प्रणालीअनुसार हुनुपर्ने अडान लियो । अर्कोतर्फ एमाओवादीनिकट अखिल (क्रान्तिकारी)ले उमेर हद लागू हुनुपर्ने र पूर्ण समानुपाति पद्दतिअनुसार स्ववियु चुनाव हुनुपर्ने नत्र चुनाव हुन नदिने भन्यो । एमालेनिकट अनेरास्ववियुले भने जुनसुकै पद्दतिबाट यही वैशाखभित्र जसरी पनि स्ववियु चुनाव हुनुपर्छ भनेर मध्यमार्ग पछ्यायो । यी तीन ठूला दलका भ्रातृसंगठनबीचको टकरावका कारण झण्डै दशकदेखि विश्वविद्यालयमा स्ववियुको अस्तित्वहीन बनेको छ ।

त्रिविले पटक–पटक स्ववियु चुनावको मिति घोषणा गरेपनि विद्यार्थी संगठनबीच अन्तरद्वन्द्वले चुनाव हुनसकेको छैन । देशभरिमा त्रिविको ६० आंगिक क्याम्पस छन् ।
त्यसैगरी १ हजार ५३ सम्बन्धनप्राप्त क्याम्पस छन् । तीमध्ये अधिकांश आंगिक क्याम्पसमा स्ववियु चुनाव हुने गर्दछ । स्ववियु चुनावमा प्रमाणपत्र तह नर्सिङ, स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउँछन् ।

अब विशुद्ध शैक्षिक मुद्दा उठाउँछौं : कर्ण
नेविसंघका अध्यक्ष तथा सांसद रन्जित कर्ण आफू स्ववियु निर्वाचनको पक्षमा रहेको बताउँछन् । ‘प्रशासनिक कमजोरीले विद्यार्थी संगठन एकमत हुन सकेनौं । यो वैशाख र जेठमा चुनाव नहुने भयो । तैपनि यो वर्ष चुनाव गराउने वातावरण निर्माण गर्छौ । अब विद्यार्थी संगठनहरुले विशुद्ध शैक्षिक मुद्दामात्र उठाउने छन्’, उनले भने ।

जसरी पनि स्ववियु चुनाव हुनुपर्छ : लामा
अनेरास्ववियु अध्यक्ष नविना लामा जसरी पनि स्ववियु चुनाव हुनुपर्ने बताउँछिन् । ‘विश्वविद्यालयमा विद्यार्थीको वैधानिक मञ्च भनेकै स्ववियु हो,’ उनी भन्छिन्, ‘जसरी पनि स्ववियु चुनाव हुनुपर्छ । तर, ठूला विद्यार्थी संगठनभित्रै बाट बाधा हालेपछि त्रिविले बहाना बनाउने ठाउँ पाएको छ ।’ स्ववियुमा हारजित भन्दा पनि चुनावमात्रै चाहेको उनले सुनाइन् ।

लोकतान्त्रिक प्रणालीको आधार स्ववियु : मल्ल
अखिल (क्रान्तिकारी) का अध्यक्ष रमेश मल्ल त्रिविले विद्यमान विधिअनुसार  स्ववियु चुनाव घोषणा गर्न नसक्नु र संगठनबीच नियमावली विवादले तत्काल चुनाव हुन नसकेको बताउँछन् । ‘तर पनि स्ववियु चुनाव गराउन लचिलो हुनुपर्छ भन्ने प्रगतिशील संगठनहरुको धारणा छ,’ उनले भने, ‘बहुदलीय व्यवस्था भएको मुलुकमा विद्यार्थीका निम्ति लोकतान्त्रिक प्रणालीको आधार स्ववियु चुनाव हो ।×’

विद्यार्थीले पार्टीको दलालीभन्दा विचारको प्यानलमा सोच्नुपर्छ : कोईराला
शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला विद्यार्थीले विश्वविद्यालयमा राजनीति गर्नका निम्तिमात्र स्ववियु चाहेको उल्लेख गर्छन् । ‘अन्तर्राष्ट्रियरुपमा हेर्दा विश्वविद्यालयमा पार्टीपिच्छेको संगठन हुँदैन । विषयगत समितिमात्र हुन्छ’, उनले भने,‘सत्ता हत्याउने वा सत्तामा भएका मान्छेलाई फाल्ने राजनीतिक हतियारका रुपमा मात्र स्ववियुलाई लिने गरिएको छ ।’
‘हिजो विद्यार्थीलाई राजनीतिक हतियारका रुपमा प्रयोग भए । अबदेखि विद्यार्थीले पार्टीको दलालीभन्दा विचारको प्यानलमा सोच्नुपर्छ । विचारको खानीका रुपमा प्रयोग गर्नुपर्छ । त्यसैले विद्यार्थी विषयगत रुपमा जाऊ’, कोइरालाले भने ।

विद्यार्थीकै हितमा स्ववियु निर्वाचन : त्रिवि उपकुलपति
त्रिवि उपकुलपति प्राध्यापक तीर्थराज खनियाँ विद्यार्थी संगठनहरुबीच विमति उब्जिएपछि स्ववियु चुनाव घोषणा हुन नसकेको बताए । ‘विद्यार्थीलाई संगठनको इज्जतको सवाल नभई विद्यार्थीकै हितमा स्ववियु निर्वाचन गराउन खोजिएको हो’, उनले भने,‘विद्यार्थी संगठनहरु स्ववियु चुनावप्रति एकताबद्ध भएलगत्तै हामी चुनाव गराउँछौं ।’

परीक्षा वैशाखबाटै
त्रिविले परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख २७ गतेबाट परीक्षा लिने तालिका प्रकाशन गरेको छ । स्ववियु चुनाव हुने/नहुने निश्चित नभएकाले स्नातकोत्तर एमए र एमएड तथा एलएलबी पहिलो वर्ष र बीएस्सी चौथो वर्षको परीक्षा तालिका प्रकाशन गर्नुपरेको नियन्त्रक केशव बाँस्तोलाले बताए । यो परीक्षा शैक्षिक सत्र ०७०/७१ ब्याचको परीक्षा हो । ‘वैशाख पहिलो साता हुनुपर्ने परीक्षा स्ववियु चुनावकै कारण पछाडि धकेलियो,’ नियन्त्रक बाँस्तोलाले भने, ‘परीक्षा नभएकै कारण भर्ना खोल्न सकिएको छैन ।’ अर्कोतर्फ एमबीएसको परीक्षा तालिका अझै प्रकाशन हुन सकेको छैन । अघिल्लो सत्रको परीक्षा नभएकाले शैक्षिक सत्र २०७१/७२ को भर्ना अझै खुलेको छैन । स्नातक तेस्रो वर्षको जेठ १६ गतेबाट हुनेछ ।

Share To:

तपाईको प्रतिक्रिया :