नुवाकोटः भिषण वर्षापछि गएको पहिरोले दुई दिनदेखि पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ ।
वीरगञ्ज र रसुवागढी जोड्ने छोटो त्रिदेशीय सडकमार्ग अवरुद्ध हुँदा सयौँको संख्यामा मालवहाक र यात्रुवहाक सवारीसाधन अलपत्र परेका छन् ।
नुवाकोटको त्रिशुली रसुवागढी सडक खण्ड अन्तर्गत् पासाङ ल्हामु मार्गको गेरखु गाविस वडा नम्बर ४ आगिटारमा वर्षापछि पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।
गेरखु गाविसका विभिन्न तीन स्थानमा सडक अवरुद्ध हुँदा तीन सय ६० बढी मालवाहक डिम्बा, एक सय बस, सोही मात्रमा ट्रक सँगै सयौँ सवारी साधन अलपत्र परेका छन् ।
उक्त सडकखण्ड अवरुद्ध भएपछि रसुवा सडक सञ्जालबाट विच्छेद भएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले तत्काल सडक खुलाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिइसकेको बताए पनि अझै सडक खुल्न सकेको छैन ।
भिषण वर्षापछि मंगलबार साँझ ४ बजेबाट सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय नम्बर पाँच नुवाकोटले जनाएको छ । पहिरो पन्छाउन ह्याभी इक्युमेन्ट नहुँदा अवरुद्ध सडक पन्छाउन समस्या भएको सडक कार्यालयले जनाएको छ ।
सडक कार्यालयले पहिरो हटाउन काठमाडौँबाट इक्युभमेन्ट मगाएको नुवाकोट डिभिजनल सडक कार्यालय नम्बर पाँचका इन्जिनियर रोहितकुमार बिसुरालले जानकारी दिए ।
दुई तीनदेखि सडक अवरुद्ध हुँदा सम्बन्धित निकायले अवरोध हटाउन कुनै पहला नगरेको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । स्थानीयबासी बासुदेव रिजालले भने, ‘त्रिदेशीय सडक अवरुद्ध हुँदा सम्बन्धित निकाय मौन छ । सयौँ सवारीसधान अलपत्र छन् ।’



तपाईको प्रतिक्रिया :