वैशाख २९, २०७३- मुलुकका विभिन्न क्षेत्रका अस्पतालमै रगत नपाएर बिरामी छटपटिने र ज्यानसमेत गुमाउने विडम्बनापूर्ण अवस्था कायमै छ । विशेष गरी दुर्गम जिल्लाका नागरिक वर्षौंदेखि यही अवस्थामा गुज्रिरहेका छन् ।
व्यक्तिको ज्यानसँग जोडिने भएकाले रगत अभाव अत्यन्तै संवेदनशील र गम्भीर विषय हो । तर, रगत अभावको समस्या दीर्घकालीन रूपमा सुल्झाउन सरकार र सम्बन्धित निकायले प्राथमिकताका साथ पहलकदमी लिएको देखिँदैन ।
रगत अभावको समस्या सुगम र ठूला सहरी क्षेत्रका अस्पतालमा पनि कहिलेकाहीँ देखिन्छ । तर, दुर्गम पहाडी जिल्लामा समस्या जटिल छ । दुर्गम क्षेत्रका कतिपय अस्पतालले दक्ष चिकित्सक नै पाएका हुँदैनन् ।
बल्लतल्ल चिकित्सक उपलब्ध भएर ठूलाखाले शल्यक्रिया सेवा सुरु गरेका त हुन्छन् तर अपर्झट चाहिन सक्ने रगतको भरपर्दो व्यवस्थापन गरेका हुँदैनन् । अस्पतालमा बिरामीलाई रगत चाहिने अवस्था आउनासाथ समस्या हुन्छ । यस्तै अवस्था छ अहिले सुदूरपश्चिमको बाजुरा जिल्ला अस्पतालमा ।
मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई चिकित्सक आफैंले रगत दिएर बचाएको एक साता नबित्दै अर्की महिलाका लागि रगत जुटाउन तिनका आफन्त र अस्पतालले हारगुहार गर्नुपरेको छ । बाजुरामा रगत सञ्चय गरिराख्ने ‘ब्लड बैंक’ (रक्तसञ्चार केन्द्र) छैन ।
रगत आवश्यक पर्नासाथ अस्पताल वा बिरामीका आफन्तले भौंतारिनुपर्छ । बाजुराकै जस्तो अवस्था अन्य क्षेत्रमा पनि छ । रगत खोज्दाखोज्दै ज्यान जानेसमेत गरेको छ । ठूला सहरी क्षेत्रमा समस्या पर्नासाथ बिरामीलाई नजिकैको अर्को अस्पतालमा रेफर गर्न वा लैजान सम्भव हुन्छ । तर, दुर्गम क्षेत्रमा सर्वसाधारण नागरिकलाई त्यो विकल्प हुँदैन ।
राजधानीमा केन्द्रीय रक्तसञ्चार केन्द्र, विराटनगर, चितवन, पोखरा र नेपालगन्जमा गरी चार ठाउँमा रक्त सञ्चार केन्द्र र अन्य ठाउँमा जिल्ला शाखा र एकाइले बिरामीका लागि रगतको चाँजोपाँजो गर्दै आएका छन् । यी सबैको सञ्चालन र व्यवस्थापन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ । रगत उपलब्धताका लागि रक्तदाताको स्वयंसेवी समूह पनि सक्रिय छ ।
तर, विद्यमान यी व्यवस्थापन र पहल पर्याप्त देखिँदैनन् । करिब दुई दर्जन जिल्लामा एउटा पनि ब्लड बैंक छैन । भएका ब्लड बैंकहरू आफैं जनशक्ति र समन्वय अभावलगायत समस्यासँग जुधिरहेका छन् । स्वयंसेवी रक्तदाताहरू पनि राजधानी र ठूला सहरी क्षेत्रमा केन्द्रित देखिन्छन् ।
जिल्लाका अस्पतालले जटिल खालका शल्यक्रिया सेवा सुरु गर्दै रगत व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हो । रगत व्यवस्थापनका लागि भरपर्दो उपाय भनेको ब्लड बैंक स्थापना नै हो ।
यसका लागि ब्लड बैंक सञ्चालनको आधिकारिक अनुमतिप्राप्त संस्था रेडक्रस सोसाइटी र राज्यको दीर्घकालीन योजना चाहिन्छ । भएकै ब्लड बैंकमा कहिलेकाहीँ रगत अभाव देखिन्छ । रगतको जोहो गरिराख्न रक्तदान कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्छ ।
नियमित रक्तदाता र ब्लड बैंकबीच समन्वय र सहकार्य पनि जरुरी छ । कहिलेकाहीँ बिरामीलाई ताजा रगत चाहिन्छ । यस्तो अवस्थामा सम्पर्क सञ्जाल सहयोगी हुन्छ । रक्तदाताको संख्या बढाउँदै जानुपर्छ । शरीरले उत्पादन गरेको रगत तीन महिनामा आफैं नष्ट भएर जाने हुनाले स्वस्थ व्यक्तिलाई हरेक तीन महिनामा रक्तदानका लागि प्रेरित गर्न सक्नुपर्छ ।
सहरी क्षेत्रमा अस्पताल र चिकित्सकसँगको मिलेमतोमा रगतको अवैध कारोबार हुँदा बिरामी ठगीमा पर्ने गरेको गुनासो पनि बेला–बेला आउने गरेको छ । कहिलेकाहीँ रगतको ‘ब्याग’ नै अभाव पनि हुने गरेको सुनिन्छ ।
सम्बन्धित निकायको हेलचेक्रयाइँका कारण मात्र यो अवस्था आउँछ । यी विषयतर्फ राज्यको निगरानी आवश्यक छ । बिरामी बेलैमा अस्पताल नपुर्याएर पनि स्थिति थप जटिल बन्न सक्छ । यसतर्फ सर्वधारण नागरिक पनि सचेत हुन जरुरी छ ।
स्वास्थ्य सेवा संविधानप्रदत्त मौलिक हक हो । नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउनु राज्यको दायित्व हो । अस्पताल खोलेर मात्र दायित्व पूरा हुँदैन । पर्याप्त र दक्ष जनशक्ति त व्यवस्था गर्नैपर्छ ।
रगतजस्तै अत्यावश्यकीय वस्तुलाई सर्वसुलभ बनाउनुपर्छ । अनि मात्र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन् । नत्र यसरी नै रगत अभावजस्ता समस्याले अस्पतालमा बिरामी छटपटाउने र ज्यानैसम्म जाने घटना दोहोरिरहन्छन् ।



तपाईको प्रतिक्रिया :