काठमाडौं: मधेस केन्द्रितदलहरुले बुधबारको संसद बैठक बहिष्कार गरेका छन् । आफ्ना माग सम्बोधन गर्ने तर्फ सरकारले कुनै पनि चासो नदेखाएको भन्दै मधेसकेन्द्रित दलका सांसदले आजको बैठक बहिष्कार गरेका हुन् ।
सदनको कारबाही सुरु हुने वित्तिकै सांसद डिम्पलकुमारी झाले संविधान निर्माणको विषयमा असन्तुस्टि राख्दै लामो समयदेखि तराई–मधेसमा आन्दोलन भए पनि सुनुवाई नभएकाले आफूहरुसँग विरोध गर्नुको विकल्प नभएको बताइन् ।
उनले मधेसवादी दलले उठाएको माग तत्काल पूरा गर्न आग्रह गरिन् । यसरी सदनको बैठक बहिस्कार गर्नेमा संघीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टीलगायत दल सम्वद्ध सांसद छन् ।
सदनमा तीन प्रतिवेदन पेस
व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पच्चीसौँ वार्षिक प्रतिवेदन २०७१/७२' पेस गरेका छन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७१/७२' पेस गरे ।
यस्तै सामान्य प्रशासनमन्त्री रेखा शर्माको तर्फबाट मन्त्री खरेलले नै ‘लोकसेवा आयोगको ५५ औँ वार्षिक प्रतिवेदन २०७१/०७२' पनि आजै सदनमा पेस गरेकी छन् ।


तपाईको प्रतिक्रिया :