दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा शरणार्थी मुद्दा प्राथमिकतामा नपरेकोमा यस क्षेत्रका विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन् । सार्क क्षेत्रको सामूहिक विकास गर्ने उद्देश्यले स्थापना भएको सार्कमा शरणार्थीको समस्या नउठ्नुले पनि यसको विकास प्रक्रिया झल्किएको विज्ञहरुले बताए ।
यस क्षेत्रमा रहेका शरणार्थीहरू, उनीहरूले भोग्नु परेका समस्या, तिनको निदान र आप्रवासी कामदारको विषयमा छलफल गर्ने उद्देश्यले आयोजित दुई दिने क्षेत्रीय कार्यक्रममा यस क्षेत्रका विज्ञहरुले यस्तो धारणा राखेका हुन् ।
मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माबाट उद्घाटन गराइएको उक्त कार्यक्रम शरणार्थी समस्यामा केन्द्रित थियो । अध्यक्ष शर्माले नेपालमा विदेशी शरणार्थीहरूको व्यवस्थापन निकै चुनौतिपूर्ण रहेको भए पनि त्यसको ब्यवस्थापन गरेको र अहिले न्युन शरणार्थीमात्र रहेको बताए ।
विभिन्न कारणले बनेका शरणार्थीप्रति शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयसँग सहकार्य गर्दै आयोग अगाडि बढेको उनले बताए । नेपालमा रहेका भुटानी शरणार्थीहरू विश्वकै ठूलो पुनर्वास कार्यक्रमअन्तर्गत पश्चिमा मुलुकहरुमा पठाइएको र तिब्बती शरणार्थीको समाधान यसअघि नै गरिएको उनले बताए ।
‘हामीले शरणार्थीहरूको अवस्थाका बारेमा निरन्तर अनुगमन गरिरहेका छौं र सरकारलाई पनि शरणार्थीको विषयमा सुझाउने गरेको छौ,’ उनले भने, ‘साझा प्रयत्न हुँदा शरणार्थी समस्या समाधानमा कुनै असहजता रहँदैन ।’
दक्षिण एसियाली अध्ययन केन्द्र (सीसास) का प्रमुख डा. निश्चलनाथ पाण्डेले दक्षिण एसियामा शरणार्थीहरूको पछिल्लो अवस्थाबारे जानकारी दिंदै त्यो तथ्यांकले हेर्दा दक्षिण एसियामा शरणार्थीको समस्या विकराल रहेको बताए ।
उनले साझा समस्याको रुपमा सबैले यसलाई ग्रहण गरेर समाधान गर्दै अघि बढ्न आवश्यक भएको पनि बताए । उनले शरणार्थी समस्या दक्षिण एसियामा मात्र नभएर विश्वभर रहेकोले यो विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए ।
थिंक ट्यांकबाट आएका यस्ता धारणाहरुलाई सरकारले ग्रहण गरेर अघि बढ्दा राम्रो हुने पनि उनले बताए ।
सिसास र कोनार्ड एड्नेअर स्टिफटुंगको आयोजनामा भएको उक्त कार्यक्रममा विश्व शरणार्थी समस्या, यस क्षेत्रको समस्या र अबमा दिनमा गर्नुपर्ने कामको सुझावसहित १७ कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
यस क्षेत्रमा नाम कहलिएका प्राध्यापकहरुले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै छलफल समेत गरेका थिए । रणनीतिक अध्ययन क्षेत्रीय केन्द्र, कोलम्बोका कार्यकारी निर्देशक रहेका प्राध्यापक इम्तियाज अहमदले शरणार्थी समस्यालाई साझारुपमा अघि बढाउन सके सबै मुलुक यसबाट मुक्त हुन सक्ने बताए ।
आन्तरिक विस्थापन पनि यो क्षेत्रको गम्भीर विषय बनेको उनले बताए । दक्षिण एसियामा शरणार्थीले भोग्नुपरेका समस्या र त्यसका समाधान खोज्ने उद्देश्यसहित यो कार्यक्रम आयोजना भएको हो ।
भुटानी शरणार्थीलाई पुनर्बासका लागि पश्चिमा देशहरूमा पठाइएको सफल मोडलको रुपमा ब्यक्त गरेपनि त्यो समस्याको बारेमा लेखनाथ पाण्डेले फरक धारणा ब्यक्त गरेका थिए ।
दक्षिण एसियामा पनि राजनीतिक, धार्मिक लगायतका विभिन्न कारणले शरणार्थीको समस्या विकराल बन्दै भएकोमा यसको ब्यवस्थापन जरुरी भएको ध्रुव जयशंकरले बताए ।
भारतीय विदेश सचिव एस जयशंकरका छोरा ध्रुव दक्षिण एसिया ब्रुकिङ इन्स्टिच्युटका अनुसन्धानकर्ता हुन । उनले दक्षिण एसियामा आन्तरिक विस्थापितको समस्याको बारेमा अध्ययन गरिरहेको र त्यो विकराल रहेको बताए ।
कार्यक्रममा नेपाल, भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेश र माल्दिभ्समा विभिन्न सञ्चारमाध्यममा लेख्दै आएका विज्ञदेखि पूर्व जनरलहरुको समेत उपस्थिति थियो । कार्यक्रमको सुझाव सार्कमार्फत सबै मुलुकमा पुर्याइने आयोजकले बताएको छ ।
सार्कमा शरणार्थीका मुद्दा एजेण्डा नबन्नुलाई उनीहरुले गम्भीरताको साथ लिएका छन् । आआफ्नो मुलुकको कार्यपत्र प्रस्तुत गर्ने भनिए पनि धेरैले नेपालमा बाँकी रहेका भुटानी शरणार्थी र लामो समयदेखि चर्चामा रहेको तिब्बती शरणार्थीको विषयमा नै छलफल गरेका थिए ।
द्वन्द्वरत मुलुकबाट नै शरणार्थीको समस्या सिर्जना भएको र कतिपयले अवसरको लागि पनि शरणार्थी बन्न खोजेको जस्ता विषयमा बहस भएका थिए । सम्मेलनको बहस मंगलबार अबेर काठमाडौं प्रतिबद्धता जारी गर्दै सम्पन्न हुँनेछ ।



तपाईको प्रतिक्रिया :