श्रोतमै फोहर वर्गीकरण गरी उचित व्यवस्थापन गर्ने योजनाअन्तर्गत ललितपुर उपमहानगरपालिकाले १० हजार परिवारलाई हरियो र रातो बाल्टिन वितरण गर्दैछ ।
०६८ सालदेखि नै २२ नम्बर वडामा परीक्षण भएको घरमै फोहोर वर्गीकरण गर्ने परियोजनालाई ८ वटा वडामा विस्तार गर्न लगिएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
२, ३, ४, १३, १५, १६, १८ र २२ नम्बर वडाका सबै परिवारलाई बाल्टिन वितरण गर्ने तयारी गरिएको हो । यो परियोजनाका लागि युरोपियन युनियनले उपमहानगरपालिकालाई ३ लाख २० हजार युरो सहयोग गरेको छ ।
रातो र हरियो बाल्टिन किन ?
उपमहानगरपालिकाले विभिन्न पाँच वडाका सबै परिवारलाई दुई किसिमका बाल्टिन प्रदान गर्दैछ ।
स्थानीयले अब घरबाट निस्कने फोहोरलाई एकै ठाउँमा राख्न पाउने छैनन् । हरियो बाल्टिनमा जैविक अर्थात कुहिने फोहोर राख्नुपर्ने उपमहानगरका प्रवक्ता रुद्रप्रसाद गौतमले बताए ।
कागज, सिसा, टिन, प्लाष्टिक लगायत अजैविक अर्थात् नकुहिने फोहोर भने रातो बाल्टिनमा राख्नुपर्नेछ । हरियो बाल्टिनमा भने भान्साबाट निस्कने तरकारीका टुक्रा, बासी खाना लगायतका कुहिने फोहोर राख्नुपर्ने प्रवक्ता गौतमले जानकारी दिए ।
उपमहानगरपालिकाले झण्डै १२ सय घर परिवारलाई यस्ता बाल्टिन वितरण गरिसकेको छ । यसै आर्थिक वर्षभित्र १० हजार परिवारलाई बाल्टिन बाँडिसक्ने लक्ष्य राखिएको छ ।
फोहोर पनि किनबेच
घरमै वर्गीकरण गरी जम्मा भएका फोहोरलाई उपभोक्ता आफैंले व्यवस्थापन गर्नुपर्नेछ । कुहिने फोहोरलाई कम्पोष्ट बिनमा मल बनाउनुपर्ने उपमहानगरका वातावरणीय इञ्जिनियर प्रदीप अमात्यले बताए ।
उपमहानगरपालिकाले यसका लागि १ हजार परिवारलाई कम्पोष्टबिन पनि निःशुल्क वितरण गर्दैछ । नकुहिने र पुनः प्रयोग हुनसक्ने फोहोर भने स्थानीय क्लब, महिला समूह लगायतबाट व्यवस्थापन गर्ने योजना बनाइएको छ ।
त्यस्ता क्लव तथा समूहहरुले स्थानीय क्षेत्रमा नकुहिने फोहोर किलोको ८ रुपैयाँमा उपभोक्तासँग किन्ने छन् । यसलाई किलोको २२ रुपैयाँमा बेच्न सकिने भएकाले समूहरुलाई आम्दानीको स्रोत तयार हुने प्रवक्ता गौतमले बताए ।
तरकारीको बीउ पनि बाँडिने
ललितपुर उपमहानगरपालिकामा दैनिक ६५ मेटि्रक टन फोहोर निस्कन्छ । धेरै फोहोर व्यवस्थापन चुनौति हुँदै आएको छ । त्यसैले यसलाई ४० मेटि्रक टनमा झार्ने गरी यो योजनाको सुरुवात गरिएको कार्यकारी प्रमुख पाण्डेले बताए ।
यसका लागि उपभोक्तालाई कौसी खेतिमा प्रोत्साहित गर्न लागिएको छ । कौसी खेतिका लागि उपमहानगरले तरकारीका बीउ निःशुल्क वितरण गर्ने योजना पनि बनाएको छ ।
कार्यक्रम लागू भएका वडाका बासिन्दालाई कुन-कुन समयमा के तरकारी लगाउने भनेर क्यालेन्डर नै दिइने छ । यसबाट फोहोरको व्यवस्थापनसँगै कार्बन बिसर्जनमा पनि सघाउ पुग्ने कार्यकारी प्रमुख पाण्डेले बताए ।



तपाईको प्रतिक्रिया :