लन्डन–जारी सिजन इङ्लिस प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेस्टर सिटीका जेमी भार्डेले आगामी सिजन च्याम्पियन टोलीमै बस्ने बताएर ठूलो राहत प्रदान गरेका छन् । सिजन सुरु हुनुभन्दा अघिसम्म कसैले नसोचेको सफलतासम्म लेस्टरलाई डोर्याउन भार्डेले सर्वाधिक २४ गोल गरेका थिए ।

त्यही उच्च फर्मका कारण इङ्ल्यान्डका फरवार्ड आगामी सिजनमा प्रिमियर लिगकै अरु महारथी टोलीको रोजाइमा पर्ने अनुमान गरिएको थियो । ठूला क्लबमा सरुवा भएर आगामी सिजन भार्डे किङ पावर रंगशालामा नहुने अनुमानलाई उनले सोमबार गलत साबित गरिदिएका छन् । आगामी सिजन लेस्टरले च्याम्पियन्स लिग खेल्नुका साथै प्रिमियर लिगमा पनि उपाधि रक्षाको प्रयास गर्नुपर्ने भएकाले आकर्षक पारिश्रमिकको लोभ नगरी किङ पावर रंगशालामै रहने २९ वर्षे स्ट्राइकरले प्रस्ट पारे ।

'हामीले भर्खर लिग जितेका छौं । आगामी सिजन हामीले यो उपाधि रक्षा गर्नुपर्छ । सँगै हामी लेस्टरको जर्सीमा अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउँछौं । म यहाँ खुसी छु,' भार्डेले भने, 'यही क्लबले मलाई पहिचान दिएको छ । त्यसैले म यही क्लबबाट अरु थप सफलता हासिल गर्न चाहन्छु ।'

पछिल्लो एक वर्षमा एकाएक उदाएका भार्डे फुटबल राइटर्स एसोसिएसनबाट वर्षको उत्कृष्ट खेलाडी घोषित भएका थिए । तर, भार्डेको विचारमा उनको उदयमा क्लब र प्रशिक्षकको ठूलो भूमिका छ । प्रशिक्षकको उत्कृष्ट रणनीतिका कारण कठिन अवस्थामा पनि टोली सम्हालिएको भार्डेको अनुभव छ । फेब्रुअरीमा टोटेनह्यामसँग पराजित हुँदै एफए कपबाट बाहिरिएपछि प्रशिक्षक क्लाउडियो रेनरीले टोलीलाई एक साताको बिदा दिनुले धेरै सकारात्मक असर गरेको उनले बताए । एक साताको बिदा मनाएर पुनर्ताजगीका साथ फर्केको टोलीले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ३–१ ले हराएर प्रिमियर लिग उपाधि जित्न सक्ने मनोबल बटुलेको थियो ।

'बिदा दिने प्रशिक्षकको रणनीतिले निकै राम्रो काम गर्यो । हामीलाई सात दिन परिवारसँग समय बिताउन र सबथोक बिर्सेर फर्किन बिदा दिइएको थियो,' भार्डेले भने, 'खासगरी एफए कपबाट बाहिरिनुको पीडाबाट मुक्त हुन त्यो बिदाको भूमिका महŒवपूर्ण रह्यो ।'
बिदा मनाउने क्रममा केही खेलाडी परिवारसहित दुबई गएका थिए । 'त्यहाँबाट ब्याट्री रिचार्ज भएजसरी हामी फर्कियौं र अझ बलियो भएर प्रस्तुत भयौं । अरु टोली अभ्यासमा कडा मिहिनेत गरिरहेका बेला हामी भने मजासँग घुमिरहेका थियौं । त्यसले सफलताका लागि साँच्चै ठूलो भूमिका निर्वाह गर्यो,' भार्डेले भने ।
Share To:

तपाईको प्रतिक्रिया :