बेनी: विदेशी भूमि त्यसमाथि कामको तनाव। तर, व्यस्तताबीच धौलागिरि नौमती बाजा समूहले बेलायतमा छुट्टै पहिचान बनाउन सफल भएको छ। रोजगारको सिलसिलामा बेलायत पुगेका धौलागिरिवासीले सन् २००९ मा समूह स्थापना गरी निरन्तर रूपमा नौमती बाजा बजाउँदै आएका छन्।

कलासंस्कृतिको जगेर्ना गर्न त्यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा नौमती बाजा बजाउँदै आएको समूहका संयोजक बिल पुर्जाले बताए। 'युरोपमा नेपालीको संख्या दिनहुँ बढ्दै गएको छ, जहाँ भए पनि मानिसले आफ्नो परम्पराको निरन्तरता चाहेका हुन्छन्', उनले भने, 'यसलाई ध्यान दिँदै गर्दै हामीले नेपालबाट सामग्री लिएर पाँच वर्षदेखि बाजा बजाउँदै आएका छौं।'

समूहमा अहिले म्याग्दी, पर्वत र बागलुङका गरी दुई दर्जन सदस्य आबद्ध छन्। त्यसलाई आगामी दिनमा अझ व्यापक बनाउने तयारी भएको छ। अंग्रेजी नयाँ वर्ष, नेपाली संघसंस्था र समुदायले आयोजना गर्ने वनभोज, विभिन्न किसिमका सभा सम्मेलन र नेपाली समुदायको विवाह, व्रतबन्धजस्ता कार्यमा पनि बाजा बजाउन गरिएको समूहले जनाएको छ।

समूहसँग अहिले दुईवटा कर्णाल, दुईवटा सहनाई, दुईवटा दमाह, एकएकवटा नरसिंह, टेम, ढलकी र झ्याली छन्। सबै बाजा नेपालबाटै लगिएका हुन्। दलित समुदायले मात्रै नौमती बाजा बजाउँदै आए पनि बेलायतमा भने मगर, गुरुङ, बाहुन, क्षेत्री सबै मिलेर बजाउने गरिएको संयोजक पुर्जाले बताए।

पछिल्लो समय पोखरा, बुटवल, बेनीलगायतका क्षेत्रमा गैरदलित समुदायले पनि व्यावसायिक रूपमा नौमती बाजा बजाउन थालेका छन्। 'नौमती बाजा कुनै जातिविशेषको बाजा होइन, यो हाम्रो राष्ट्रिय बाजा हो, यसको गौरव सबै नेपालीले गर्नुपर्छ', संयोजक पुर्जाले भने, 'अहिलेसम्म हामीले व्यावसायिकभन्दा मनोरञ्जनका लागि बाजाहरू बजाउँदै आएका छौं।'

प्रवासी नेपाली संघ (मोना) यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले प्रवासमा नौमती बाजा समूहले फरक पहिचान बनाउन सफल भइरहेको बताए । 'यहाँ आयोजना हुने विभिन्न किसिमका कार्यक्रममा उनीहरूको सहभागिता अनिवार्यजस्तै भएको छ, नौमती बाजा बज्दा हामीलाई पनि आफ्नै गाउँघरमा भएजस्तो हुन्छ', उनले भने।
Share To:

तपाईको प्रतिक्रिया :