वैशाख २९, २०७३- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरिएका चार ‘विद्रोही’ पदाधिकारीलाई पुनर्बहाली गर्दै अध्यक्षको निर्वाचन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सोमबार निर्देशन दिएको छ ।

चार पदाधिकारीलाई १० जेठभित्र पुनर्बहाली गरेपछि अध्यक्ष चयनका लागि विशेष साधारणसभा गर्न फिफाले पत्रमार्फत एन्फालाई निर्देशन दिएको हो ।

एन्फामा २१ वर्ष अध्यक्ष रहेका गणेश थापालाई भ्रष्टाचारको अभियोगमा फिफाको इथिक्स कमिटीले फुटबल गतिविधिमा १० वर्षको प्रतिबन्ध र २० हजार स्विस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवानाको निर्णय २९ कात्तिक, २०७२ मा गरेको थियो ।

त्यस निर्णयविरुद्ध थापाको अपिललाई फिफाले १० वैशाख, २०७३ मा खारेज गरेको थियो । त्यसपछि एन्फामा नयाँ अध्यक्ष निर्वाचनका लागि ढोका खुलेको हो । थापाले तटस्थ अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस) जाने भने पनि फिफाको निर्देशनले एन्फा नेतृत्व चयनको बाटो सहज बनाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) को एएफसीमा पनि रहेका थापा कारबाहीमा परेपछि मनोनीत उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । उनलाई ललितकृष्ण श्रेष्ठको मृत्युपछि रिक्त रहेको प्रथम उपाध्यक्षमा ११ असोज, २०७२ को कार्यसमिति बैठकले मनोनयन गरेको थियो ।

थापाको अध्यक्षमा भएको त्यही बैठकले तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजय नारायण मानन्धर र किशोर राई तथा सदस्य पंकजविक्रम नेम्बाङलाई लगातार तीन बैठकमा उपस्थित नभएको भन्दै साधारणसभासम्मका लागि निलम्बन गरिएको थियो । त्यसपछि घोषित साधारणसभामा नबोलाएपछि उनीहरूले पुनरावेदन अदालत, पाटनमा मुद्दा हालेका थिए ।

पुनरावेदन अदालतले ‘सबै सदस्यलाई सूचना दिएर साधारणसभा गर्नू’ भनेर आदेश दिएपछि एन्फाले आयोजना गरेको छैन ।

विधानअनुसार एजेन्डा नदिएकाले बैठकमा नगएको बताएका उनीहरूले कारबाहीमा परेको पत्र पनि एन्फाले उपलब्ध नगराएको दाबी गर्दै आएका छन् । फिफाले पनि त्यसलाई सम्बोधन गर्दै पत्रमा ‘बिना कारण बैठक नछुटाएकाले पदाधिकारीलाई हटाउने प्रक्रियामा पूर्णता छैन’ भनिएको छ ।

नेपाली फुटबलको समस्या सुल्झाउने प्रयासमा एएफसी प्रतिनिधि दुईपल्ट काठमाडौं आएका थिए । उनीहरूकै रिपोर्टमा आधारित रहेर एन्फालाई १० जेठ (२३ मे) सम्म चार पदाधिकारीलाई पुनर्बहाली गरेर अध्यक्षको निर्वाचनको लागि विशेष साधारणसभा आयोजना गर्न निर्देशन दिएको पनि पत्रमा उल्लेख छ ।

फिफाले निर्देशनप्रति एन्फाले अटेर गरेमा सामान्यीकरण समिति (नर्मलाइजेसन कमिटी) बनाउन सक्ने कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ । ‘कार्यसमितिले गरेको निर्णय उसैले उल्टाउन सक्छ । कार्यसमितिको बैठक बोलाउन १४ दिनअघि सूचना दिनुपर्छ । त्यसैले फिफाले तोकेकै अवधिमा विधानअनुसार पुनर्बहाली गर्न सकिने अवस्था छैन,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, ‘कसरी मिलाउने भन्ने प्रक्रियाबारे फिफा कंग्रेसको भेलामा छलफल गरेर निर्णय गर्ने कार्यवाहक अध्यक्ष (नरेन्द्र श्रेष्ठ) ले बताएका छन् ।’

श्रेष्ठसहित महासचिव धीरेन्द्र प्रधान र एन्फाका सदस्य रमेश रायमाझी फिफा कंग्रेसमा सहभागी हुन मेक्सिको सिटी पुगेका छन् । उनीहरू ३ जेठमा फर्किने बताइएको छ । ‘नर्मलाइजेसन कमिटी बनाउनेमा जान सक्छ भन्ने फिफाको चेतावनीप्रति पनि सचेत छौं,’ तुलाधरले भने । एन्फाका ‘निलम्बित’ उपाध्यक्ष कर्माछिरिङ शेर्पाले अब नेपाली फुटबललाई जोगाउन एक भएर जानुपर्ने बताए ।

‘एएफसी र फिफाको निर्देशन एन्फाले अक्षरस पालन गर्नुपर्छ । त्यसमा हामीले के गर्नुपर्छ, गर्नेछौं,’ शेर्पाले भने, ‘अब समस्यासँग जुध्न एकता गर्नुपर्छ । यो निर्देशन मानेन भने नर्मलाइजेसन कमिटीमा गएर नेपाली फुटबल दुर्घटनामा पर्न सक्छ । त्यसबाट जोगाउन एक भएर लाग्नुपर्छ ।’

बदलाको नीति
२०७० चैतमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिए पनि तयारी खर्च नपाएको भन्दै हिमालयन शेर्पा, सरस्वती, फ्रेन्ड्स र मछिन्द्र क्लबले एन्फाको विरोध गरेका थिए । त्यसले विस्तारै शुद्धीकरण आन्दोलनको रूप लियो । यसमा लागेका क्लब र पदाधिकारीविरुद्ध एन्फाले पनि कडा कदम चाल्न थालेपछि नेपाली फुटबल विवादमा परेको थियो ।

त्यही सिलसिलामा २६ जेठ, २०७१ मा उपाध्यक्षद्वय शेर्पा र श्रेष्ठ तथा सदस्य नेम्बाङले गणेश थापाले अनियमितता गरेको र एक्लौटी ढंगले एन्फा चलाएको भन्दै संसदको सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी गरेका थिए । सहभागी नभए पनि उपाध्यक्ष किशोर राईले उनीहरूलाई साथ दिएका थिए ।

लेखा समितिले थापामाथि एन्फाको ५८ करोड रुपैयाँ बढी खर्चमा अनियमितता गरेको ठहर गर्दै त्यसमाथि अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको थियो । तर, अख्तियारले थापालाई चोख्याउँदै अनुसन्धानलाई तामेलीमा राखेको थियो ।

विद्रोही चार पदाधिकारीलाई निलम्बनको निर्णय गरिएको बैठकले नै उनीहरूको स्थानमा गणेश थापाका सालो मणि कुँवर, वीरबहादुर खडका र सन्तोष बानियाँलाई उपाध्यक्ष तथा थ्री–स्टारका कार्यवाहक अध्यक्ष अरुणमान जोशीलाई सदस्यमा मनोनयन गरिएको थियो । उनीहरूले लामो समयदेखि थापालाई साथ दिँदै आएका छन् ।



Share To:

तपाईको प्रतिक्रिया :