काठमाडौं: पत्रकार किशोर नेपालद्वारा लिखित पुस्तक ‘मिडियाः सिद्धान्त सूत्र र प्रयोग'सार्वजनिक भएको छ। राजधानीमा मंगलबार आयोजित कार्यक्रममा सञ्चार उद्यमी कैलाश सिरोहियाले पुस्तक विमोचन गरे।
पुस्तकको बारेमा टिप्पणी गर्दै पत्रकार नारायण वाग्लेले नेपाली सञ्चार माध्यममाथि लेखिएका किताब बजारमा कम रहेको अवस्थामा नेपालको पुस्तक आउनु सकारात्मक रहेको बताए। उनले पुस्तकमा विवरणको साटो विश्लेषण र व्याख्या भए राम्रो हुने बताए।
‘पुस्तकमा आत्मनिरीक्षण र आत्ममूल्यांकन पनि आवश्यक हुन्छ', उनले भने । प्राध्यापक पी खरेलले आफूलाई चित्त नबुझेको कुरा प्रस्टसँग लेख्ने नेपालको पुस्तक नेपाली सञ्चार माध्यमको यथार्थप्रति खरो र सशक्त रहेको बताए।
सञ्चार उद्यमी सिरोहियाले नेपालको जीवन र लेखनशैली विविधतापूर्ण रहेको चर्चा गरे। पत्रकार ऋषिकेश दाहालले नेपालमा जस्तोसुकै अवस्थामा समाचार, विचार र साहित्य लेख्न सक्ने भएकोले उनी आफैंमा लेखनको कारखाना भएको टिप्पणी गरे।
कथालय प्रकाशनअन्तर्गतको वि रिडले बजारमा ल्याएको पुस्तकमा सञ्चार माध्यमको पछिल्लो अवस्था, लेखकको अनुभव, भोगाइ तथा बुझाइ समेटिएको छ।



तपाईको प्रतिक्रिया :