दशकपछि तेश्रो पटक बेलायत ओर्लंदा निक्कै हँसिला देखिए सदाबहार नायक भुवन केसी । सेलिब्रेटी सुपुत्र अनमोल र आफ्नो पहिलो निर्देशनको सिनेमा ‘ड्रिम्स’ साथमा भएकाले पनि उनी बढि उत्साहित थिए । ‘म कयौं मुलुक पुगेपनि यूकेबाट ज्यादै आशावादी छु,' शनिबार लन्डन उत्रिए लगत्तै उनले सुनाए, ‘मेरो, अनमोल र नेपाली चलचित्र क्षेत्रकै ड्रिम्स लिएर आएको छु । आशा छ बेलायतका नेपाली दर्शकले रुचाइदिनु हुनेछ ।’
अष्ट्रेलियामा फिल्म प्रदर्शन गरेर यूके आएका हुन् भुवन बाबु छोरा । आइतबार अल्डरसटस्थित एम्पाएर ब्याङक्यूटिङ हलमा रेड कार्पेट शो पछि उक्त चलचित्र बेलायतका विभिन्न शहरमा देखाइने तय भएको छ ।
सपन इन्टरटेनमेन्ट लिमिटेडले बेलायतमा ‘ड्रिम्स’ प्रदर्शनीको जिम्मा लिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त कम्पनीका निर्देशक सपनकुमार राईले ‘ड्रिम्स’ आगामी १२ मेमा उलवीच ट्रामसेड थियटर, १५ मेमा ह्यारो सफारी सिनेमा, १६ मेमा ग्रान्थाम, २० मेमा मेडिस्टोन, २१ मेमा क्याट्रिक र २२ मेमा स्कटल्याण्डको एबरडिनमा प्रदर्शन हुने जनाए ।
‘ड्रिम्स थोरै समयमा सबैभन्दा धेरै कमाउने चलचित्र भएको छ’ तीन दशक यता करिब सय भन्दा बढि चलचित्र खेलेका सदाबहार नायक भुवनले भने, ‘मैले यसअघि जति फिल्म खेलें, बनाएं ति सबै हिट भए । राम्रा फिल्म पहिला पनि चल्थे, अहिले पनि चल्छ ।’ केसीले काजल फिल्मसको ब्यानरमा सातवटा सिनेमा बनाइसकेका छन् जसमध्ये धेरै सफल भएका थिए ।
भुवनको भनाइमा करिब डेढ करोड रुपैयां (हाइ बजेट) को फिल्म हो ड्रिम्स । नाकाबन्दी र भूकम्पका कारण लागत बढे पनि प्रेमकथामा आधारित उक्त चलचित्रले नेपालमा ५१ औं दिन पार गरेर सफलता चुमिरहेको उनले जनाए । बेलायत अघि हङकङ, कोरिया, अष्ट्रेलिया र जापानमा समेत राम्रो चर्चा बटुलेको केसीले जानकारी दिए । आगामी जुनमा सिनेमा अमेरिका लैजाने योजना उनको छ ।
ड्रिम्सको रिलिजसंगै भुवन र अनमोल दुबै चर्चामा रहे । हालसम्म चारवटा फिल्ममा मात्र लिड रोल गरेका अनमोल भुवनकै आडमा लोकप्रिय भएका हुन् ? यो आरोप स्वीकारेनन् भुवनले । भने, ‘अनमोल आफैं सक्षम कलाकार हो । ड्रिम्स खेल्नुअघि जेरी र होस्टेलमा सशक्त अभिनय गरिसकेकाले पनि ड्रिम्समा मैले उसलाई लिएं ।’ अनमोल ड्रिम्सका लागि उपयुक्त पात्र भएको बचाउ पनि भुवनले गरे । नायकका रुपमा कयौं फिल्म खेल्नु र आफैं निर्देशन गर्नुमा धेरै भिन्नता देख्छन् उनी । अभिनय भन्दा निर्देशनमा बढि चुनौती रहेको उनको अनुभव छ ।
बाबुका साथ रहेका छोरा अनमोलले आफ्नै बाबुको निर्देशनमा काम गर्दा कतिपय बेला सजिलो भए पनि ‘रोमान्स’को सिनमा भने लाज लागेको अनुभव सुनाए । भुवन साथमा रहेर होला, केही लजाएजस्तो देखिएका अनमोलले गौरी मल्लसंग काम गर्ने इच्छा समेत व्यक्त गरे । बेलायत पहिलो भ्रमण भएकाले घुमघाम र सपिङ समेत उनको योजनामा रहेछन् ।
नायक केसीले ड्रिम्सका लगानीकर्ता डा. कपिल रिजालको साथमा बेलायतबाटै एउटा फिल्म निर्माण गर्ने सोच रहेको समेत बताएका छन् ।


तपाईको प्रतिक्रिया :