पत्रिका पढ्नूस्, टेलिभिजन हेर्नूस् वा रेडियो सुन्नूस्, एउटा नाम बारम्बार आइरहन्छ, अस्मि श्रेष्ठ, २२ । यी चितवने युवती हालै १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपालको ताज जितेपछि एकाएक चर्चामा आइन् ।
केही समयअघि मात्र बीबीए सकाएकी अस्मि मोडलिङ क्षेत्रमा भने परिचित नाम हो । ६ वर्षयता मोडलिङमा लाग्दै आएकी अस्मिको अर्को परिचय पनि छ, राष्ट्रिय महिला नेटबल खेलाडी ।
श्रीलंकामा सन् २०१२ मा सम्पन्न आठौँ एसियाली नेटबल प्रतियोगितामा सहभागी राष्ट्रिय टोलीमा अस्मि पनि थिइन् । उक्त प्रतियोगिता नेपाली महिला टोलीको पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो ।
समूह ‘ए’मा रहेको नेपालले श्रीलंका, हङकङ, जापान र भारत सबैसँग खेल हारे पनि अस्मिको व्यक्तिगत प्रदर्शन राम्रै थियो । भारतविरुद्धको खेलमा उनको एकुरेसी ९५ प्रतिशत थियो ।
“पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता त्यसमाथि हामीभन्दा धेरै अनुभवी र उत्कृष्ट खेलाडीविरुद्ध खेल्नु त्यति सजिलो थिएन,” यी सुन्दरी सुनाउँछिन्, “हामीले आफ्ना तर्फबाट भरमग्दुर प्रयास गरे पनि उपाधि पाउन सकेनौँ ।”
त्यसो त अस्मि आफैँमा नेटबल खेलाडी थिइनन् । एस कलेज अफ म्यानेजमेन्टमा बीबीएको विद्यार्थी हँुदा उनी बास्केटबल खेल्थिन् । उनी पीयु कपमा कलेजकी प्रमुख खेलाडी थिइन् । तत्कालीन प्रशिक्षक राजु श्रेष्ठले उनको खेलबाट प्रभावित भएर एसियन नेटबल प्रतियोगिताका लागि खेलाडी छनोटमा भाग लिन सुझाए ।
“बास्केटबल खेलाडीले नेटबल कसरी खेल्ने भनेर म दोधारमा परेँ,” अस्मि भन्छिन्, “पछि बुझ्दै जाँदा त नेटबल र बास्केटबल खेल्ने तरिकामा खासै अन्तर रहेनछ ।” उनको टोलीमा ज्ञानु गौचन, एलिसा मल्ल, प्रीति तुलाचन आदि पनि बास्केटबल खेलाडी नै थिए । नेटबल मात्र खेल्दै आएकी खेलाडी कप्तान माला लिम्बू मात्र थिइन् । भन्छिन्, “तीन महिना लामो प्रशिक्षणपछि हामी प्रतियोगितामा गयौँ ।”
“खेलप्रतिको माया र मोह मरेको छैन । अझै पनि खेलले लोभ्याउँछ,” भन्छिन्, “पहिले रमाइलोका लागि खेलेँ । पछि प्रतियोगितामै भाग लिएँ । त्यही टिमवर्क, सहयोगी भावना र अनुशासनका कारण मिस नेपालको उपाधि हात पारेँ ।”



तपाईको प्रतिक्रिया :