अहिले नेपाली रंगमञ्च ‘गोल्डेन एज’मा छ । राजधानीका मुख्य चारवटै निजी नाट्यशाला मण्डला, थिएटर मल, शिल्पी र थिएटर भिलेजमा नबिराई नाटक मञ्चन भइरहेका छन् । तर, अधिकांश विदेशी अनूदित नाटक नै हुन्छन् । थिएटर भिलेजले मञ्चन गरेको यर्मा, मालिनी र भर्खरै प्रदर्शित ह्यामलेट रूपान्तरित नाटक हुन् ।

यर्मा स्पेनिस नाटक हो भने मालिनी नोबल पुरस्कार विजेता रवीन्द्रनाथ ठाकुरको कथाको नाट्य रूपान्तरण । भर्खरै प्रदर्शित ह्यामलेट सेक्सपियरको नाटक हो । यी सबै नाटकको निर्देशन विमल सुवेदीले गरेका थिए । थिएटर भिलेजले एक्टर्स स्टुडियोको सहकार्यमा पनि विदेशी नाटकहरू मञ्चन गरेको थियो । अनुप बरालको निर्देशनमा प्रस्तुत कोर्ट मार्सल, थर्टी डेज इन् सेप्टेम्बर र केही हिन्दी कथाको नाट्य रूपान्तर सबै विदेशी (भारतीय) नाटकको रूपान्तरित प्रस्तुति थियो ।


उता शिल्पीले पनि विदेशी नाटकहरूलाई नै केन्द्रमा राखेर घिमिरे युवराजको निर्देशनमा बर्नाड शको द एप्पल कार्टको रूपान्तरण उलार, र इब्सनको पिलर्स अफ सोसाइटीको रूपान्तरण समाजका नाइके, गंगा तिवारीको निर्देशनमा मोलिएरको तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला र प्रवीण खतिवडाको निर्देशनमा इब्सनको दी हेड्डा ग्याब्लर, र जीवन बरालको निर्देशनमा मोलिएरको मिसेस अफ दी इनको रूपान्तरण पाहुना घरकी साहुनी प्रस्तुत गर्‍यो । शिल्पी थिएटरले नै सुनील पोखरेलको निर्देशनमा सेक्सपियरको मिडनाइट अफ समर–सपना हालै मञ्चित गर्‍यो ।



यी नाटकघरमा प्रदर्शित नाटकहरूको संख्या गन्ती गर्दा थिएटर भिलेजले जगदीश घिमिरेको उपन्यास सावितीलाई सुनील पोखरेलको निर्देशनमा, सत्यमोहन जोशीको नाटक चारुमती, अभि सुवेदीको सान्दाजुको महाभारत र सञ्जीव उप्रेतीको मकैको अर्कै खेती विमल सुवेदीको निर्देशनमा मञ्चन गरेको देखिन्छ । यसमा पनि साविती उपन्यासबाट नाट्य रूपान्तकृत प्रस्तुति हो ।



शिल्पीले भवानी भिक्षुको कथा ‘हारजित’ र उपेन्द्र सुब्बाको कथा ‘लाटो पहाड’बाहेक सबै नाटकहरू विदेशी नाटकबाट अनुवाद गरिएका देखिन्छन् भने नेपालीमै प्रस्तुत गरिएका नाटक पनि मूल नाटक नभई कथालाई नाटकमा ढालेर प्रस्तुत गरिएका हुन् । सुनील पोखरेलद्वारा निर्देशित नाटक रसोमन जुन मण्डला नाटक घरमा मञ्चन गरिएको थियो, पनि जापानी लेखक रियोनुसुकेको कथाको नाट्य रूपान्तरण थियो ।



दुई दर्जनजति नाटक गरिसकेका मण्डला थिएटरका राजन खतिवडा आफ्नो नाट्यघरमा हिन्दीको चरणदास चोर, अंग्रेजीको एपिसोड इन दी लाइफ अफ एन अथरको नेपाली रूपान्तरण र माइलो र मिस जुली तीन नाटक विदेशी नाटकबाट अनुवाद गरी मञ्चन गरिएको बताउँछन् ।



अब प्रश्न उठ्छ– के नेपाली भाषाका मौलिक नाटक आजको रंगमञ्चमा मञ्चन गर्न योग्य छैनन् ? अग्रज नाटककार सत्यमोहन जोशी विदेशी नाटक प्रदर्शन गर्ने प्रचलनलाई ठाडै अस्वीकार गर्छन् । “विदेशी नाटकलाई अनुवाद गरेर मञ्चन गर्न सकिने तर मौलिक नाटकलाई प्रश्रय नै नदिने कुरा ठीक होइन ।” उनका विचारमा मौलिक नेपाली नाटक मञ्चीय दृष्टिले कलात्मक त छन् नै साथसाथै विदेशी नाटककै तुलनामा व्यावसायिक पनि हुन सक्छन् । उनी आफूले त्यसैबेला पनि फर्केर हेर्दा नाटकको मञ्चन गरेर स्याबासी कमाएका थिए । 



जोशी फर्केर हेर्दा या अनि देउराली रुन्छ जस्ता त्यसबेलाका औधी लोकप्रिय नाटकहरू फेरि मञ्चन गर्दा आजका दर्शकले पनि रुचाउनेमा ठोकुवा गर्छन् । अहिलेका निर्देशक र कलाकार पहिलेका भन्दा तुलनात्मक रूपमा बढी रंगमञ्चीय शिक्षा र ज्ञान आर्जन गरेका छन् । यिनले ती नाटक गरे भने अझ सशक्त हुन सक्छ भन्ने उनको तर्क हो । भन्छन्, “विदेशी नाटक नै किन गर्नुपर्‍यो ? पुरानै नेपाली नाटकहरू गर्दा पनि हुन्छ, नयाँ नाटककारलाई लेखाएर मञ्चन गराउँदा पनि हुन्छ ।”


Share To:

तपाईको प्रतिक्रिया :