नेपाल विद्यार्थी संघको ४६ औं स्थापना दिवसको अबसरमा सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव क्याम्पसको प्रांगनमा आयोजना गरेको महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा सर्लाही महिला युथ क्लव विजय भएको छ ।
धरान महिला युथ क्लब र सर्लाही महिला युथ क्लबबीच प्रतिस्पर्द्धामा ०-१ ले विजय भयो । खेलको अन्तिम समयमा सर्लाही महिला युथका रोशनी रुम्बाले गोल गरिन् । जर्सि नम्बर १० का रुम्बा उद्घाटन खेलको म्यान अफ दी म्याच घोषित भइन् ।
पूर्व शिक्षा मन्त्री तथा सांसद चिलेखा यादवले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिइन् । उनले देशको गौरब बढाउने र देशको नाम उच्च बनाउने एक मात्र माध्यम खेलकुद भएकोले यसलाई ब्यबसायिक बनाउन युवायुवतीहरुलाई आग्रह गरिन् ।
यस्तै, सांसद तथा कांग्रेसका केन्दि्रय सदस्य महेन्द्र यादवले खेलकुद देशमा अपहेलित अबस्थामा रहेको बताए । 'मन्त्रिमण्डल गठन हुने बेलामा खेलकुद मन्त्री बन्न समेत नेताहरु च्ाहदैनन्' उनले भने, 'खेलकुदले स्वस्थ्य र अनुशासित बनाउने गरेकोले यसलाई देशमा मर्यादित बनाउन नेबि संघले नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्छ । ' प्रतियोगितामा सांसदहरु पदमनारायण चौधरी, मोहम्मद मोखतार अहमद र रामचन्द्र यादवको समेत उपस्थिति थियो ।
मंगलवार मोरङ एघार महिला फूटबल क्लब र महिला फूटबल क्लब उदयपुर हुने आयोजक शुभाष यादवले बताए ।


तपाईको प्रतिक्रिया :