काठमाडौं-चलचित्र विकास बोर्डले निर्माण इजाजत नदिएपछि 'गाँजा बाजा' फिल्म निर्देशक गणेशदेव पाण्डे अदालतको शरणमा गएका छन्। विकास वोर्डले फिल्ममा रहेको 'गाँजा' शब्दप्रति आपत्ति जनाउँदै निर्माण इजाजत नदिएपछि पाण्डे न्याय माग्न अदालत पुगेका हुन्।



उनले सोमबार विकास बोर्डलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेका छन् । उनले बोर्डले फिल्म बनाउन पाउने अधिकार कुण्ठित गरेको भन्दै मुद्दा दायर गरेका हुन् । निर्देशक पाण्डेको निवेदनमा अदालतले उत्प्रेषण आदेश दिँदै बोर्डलाई मंगलबार अदालत बोलाएपनि मंगलबार इजलास बस्न सकेन । बिहीबार बस्ने इजलासले सो सम्बन्धमा पहिलो आदेश दिनेछ।

निर्देशक पाण्डेले बारम्बारको लिखित तथा मौखिक आग्रहलाई बोर्ड पदाधिकारीले वेवास्ता गरेकाले बाध्य भएर अदालतको ढोका ढकढक्याउन गएको बताए । 'मैले धेरै चरणमा बोर्ड पदाधिकारीलाई निर्माण इजाजत दिन आग्रह गरेँ, तर उहाँहरु मान्नुभएन । अरु उपाय नभएपछि अदालत गएको हुँ,' पाण्डेले भने ।

पाण्डेका अनुसार गत माघमा फिल्म निर्माण प्रक्रियामा गएको थियो । बोर्डले प्रारम्भिक चरणमा नाममा खासै आपत्ति नजनाई निर्माण इजाजत वापत्को राजस्व दाखिला गरेर आउन आग्रह गरेको थियो । निर्माण समूहले इजाजत लिन सबै प्रक्रिया पूरा गरेर सर्टिफिकेट लिने बेलामा भने बोर्डले अचानक दिन नमिल्ने भन्दै रोकिदियो।

'गाँजा' भन्ने शब्द अवैध भयो रे,' पाण्डेले भने, 'त्यसो हो भने बोर्डले लुट, लुटेरा, हत्या, हत्याराजस्ता नाममा पनि फिल्म बनाउन नदिने घोषणा गर्नुप¥यो । कति फिल्ममा गाँजा खाएका दृश्यलाई समेत हुबहु पास गरिएको छ। सही नियतले बनाउन लागेको फिल्ममा चाहिँ बोर्डलाई केको आपत्ति हो मैंले बुझ्न सकेको छैन ।'

उनले बोर्डले प्रक्रियामा समेत नगई इजाजत नदिएकोमा चित्त नबुझेको बताए । 'यदि बोर्डलाई कथाको उद्देश्यमा शंका लागेको भए हामीसँग पुरै स्क्रिप्ट मागेको भए हुन्थ्यो । तर ठाडै नदिँदा बोर्डले दादागिरी देखाएको अनभूति भएको छ,' पाण्डेले भने ।

उनले सोही स्क्रिप्ट प्रतिलिपि अधिकारको कार्यालयमा दर्ता गर्न गएको र त्यहाँबाट केही वाक्यमा आपत्ति जनाएपछि हटाएर दर्ता गरेको समेत जानकारी गराए । पाण्डेले अदालतमा प्रतिलिपि अधिकार रजिस्टर्ड कार्यालयमा दर्ता गरेको सोही स्क्रिप्ट सन्दर्भ सामग्रीका रुपमा बुझाएका छन् ।

सोही सम्बन्धमा बोर्डसँग सम्पर्क गर्दा बोर्डले विवाद अदालतमा गइसकेकाले अदालतको निर्णय स्विकार्ने बताए । ती पदाधिकारीले भने, 'उहाँहरुलाई नाम परिवर्तन गर्नुस् भनेका हौं । गाँजा नेपालमा अवैध भएकाले सोही नाममा फिल्म बन्दा समाजलाई असर गर्ने भएकाले हामीले आपत्ति जनाएका हौं । अब अदालतले जे भन्छ त्यही निर्णय मान्छौं ।'

'गाँजा बाजा' गणेशदेवले निर्देशन गर्न लागेको तेस्रो फिल्म हो। यसअघि उनले 'मालतीको भट्टी' र 'मञ्जरी' शीर्षकमा दुई फिल्म निर्देशन गरिसकेका छन्।

फिल्मले गाँजा सेवनपछि दुई चरित्रको जीवनमा आउने उथलपुथललाई विषय बनाएको छ।
Share To:

तपाईको प्रतिक्रिया :