वैशाख २९, २०७३- जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि तीन दिन मुलुकका धेरै भागमा वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको ‘बाढी भविष्यवाणी आयोजना’ ले मुलुकभरका नदीमा सम्भावित बाढीको भविष्यवाणीसमेत गरेको छ ।

भारतको उत्तर प्रदेश र विहारमा न्यून चापीय क्षेत्र बनेसँगै अरब सागर र बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभाव विकसित भएपछि मंगलबार बिहानदेखि राजधानीसहित देशभरि नै बदली भई वर्षा भएको हो । सुदूरपश्चिममा भने सोमबारदेखि नै वर्षा सुरु भएको छ ।

‘स्थानीय वायुको प्रभावले पनि वर्षा गर्न सहयोग मिल्यो,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले मंगलबार कान्तिपुरलाई भनिन्, ‘बिहीबारसम्मै बदली भई वर्षा हुने अनुमान छ ।’ मंगलबार राति पनि काठमाडौंसहित धेरै भागमा वर्षा हुने महाशाखाको अनुमान छ ।

‘बुधबार बिहान मौसम सफा भए पनि दिउँसोदेखि बदली भएर वर्षा हुनेछ,’ मौसमविद् कँडेलले थपिन्, ‘यो प्रि–मनसुनको एक्टिभिटी हो ।’ नेपालमा सामान्यतया जेठ अन्त्य (१० जून) देखि मनसुन सुरु हुन्छ । महाशाखाका अनुसार मंगलबार काठमाडौंमा ५.२, नेपालगन्जमा १७.४, धनगढीमा ११.५, दाङमा १५.१, सिमरामा १५.८, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा २३.४ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाले बिहीबार पनि मुलुकको पूर्वी भागमा वर्षा हुने जनाएको छ । न्यून चापीय क्षेत्र पूर्वतिर सर्दै जाने भएकाले वर्षा हुने भएको हो । ‘सुदूरपश्चिममा मौसम सफा भए पनि पूर्वी भागमा बदली हुने र वर्षा हुने देखिन्छ,’ उनले भनिन् ।

महाशाखाको भविष्यवाणीपछि विभाग मातहतको ‘बाढी भविष्यवाणी आयोजना’ ले देशका ठूला ७१ वटा नदीमा सम्भावित बाढीको भविष्यवाणीसमेत गरेको हाइड्रोलोजिस्ट विनोद पराजुलीले बताए । ‘तर यो तीन दिनमा कुनै पनि नदीमा खतराजनक अवस्था आउने देखिन्न,’ पराजुलीले भने । सबै नदीमा खतराको तहभन्दा कम पानी बग्ने आयोजनाको वेबसाइटमा उल्लेख छ ।



Share To:

तपाईको प्रतिक्रिया :