काठमाडौं: चित्र हेर्दा कुनै निश्चित आकार वा रूप देखिँदैन। कलाकार रमेश खनाल आफूले सिर्जना गर्ने यस्ता अमूर्त चित्रलाई अरुपणचित्र भन्छन्।

अरुपण अर्थात् रूप नभएका चित्र खनालको विशेषता हो। जहाँ रङको संयोजनबाट कलाकारले आफ्नो भावना व्यक्त गर्छन्।

यस्तै बनाउँदै आएका कलाकार खनालको ३० औं एकल प्रदर्शनी मंगलबारदेखि अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। विभिन्न आकारप्रकारका चित्रमा फरकफरक रङ प्रयोग गरिएको छ।

प्रदर्शनीका चित्रमध्ये धेरैजसो नीलो, हरियो, कालो पहेँलो र रातो रङका चित्र छन्। केही चित्रमा सुनौलो रङको प्रयोग पनि धेरै गरिएको छ। उनका अघिल्ला अरुपण शृंखलामा कालो रङ अन्य रङको छायामा पथ्र्यो भने यसपटक कालो रङको प्रयोग पनि धेरै गरिएको छ।

यसअघि अमूर्त र अरुपण कला पनि गतिशील हुने बताउँदै ‘अरुपणगामी'शैलीका चित्र बनाउने खनालले यसपटक आफ्नो कला प्रदर्शनीको शीर्षक ‘अवद्युत'राखेका छन्। सम्पूर्ण पाप नास भएर प्राप्त हुने आध्यात्मिक शान्तिको अवस्थालाई अवद्युत भनिने उनले बताए।

आफ्ना चित्रका विषयमा खनाल भन्छन्, ‘समय र भावको संयुक्त संयोजनमा यी चित्र बनेका छन्। यिनमा मानवीय स्वतन्त्रता र उन्मुक्त समाजको परिकल्पना छ।'आफ्नो कलामा समाज र मानवबीचको सन्तुलन व्यक्त गर्न खोजेको उनको भनाइ छ।

पछिल्लो एक वर्षमा सिर्जना भएका उनका केही चित्रमा भूकम्पको प्रतिविम्ब पनि देखिन्छ। भूकम्पले सुन्दर सिर्जनालाई भत्काएपछि पनि पुनर्निर्माणको आशालाई रङ संयोजनबाट उनले उतारेका छन्।

कलाकारका साथै कलासमीक्षक र ग्यालरी सञ्चालकसमेत रहेका खनालको प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले एक कार्यक्रमबीच उद्घाटन गरिन्। उपाध्यायले नेपाली कलामा खनालको योगदान बहुआयामिक रहेको बताइन्।

उनले भनिन्, ‘लेखन, कलाकारिता, ग्यालरी सञ्चालन तथा कला गतिविधिमा क्रियाशील रहेर खनालले पुर्याएको योगदानको नेपाली कला क्षेत्रले सदैव सम्झनेछ।'कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले प्रदर्शित चित्र अमूर्त भए पनि भावपरक र नेपाली परिवेशसँग मेल खाने खालका चित्र रहेको बताए।

कार्यक्रममा ग्यालरीका कार्यकारी निर्देशक रीता खनालले नेपाली कला क्षेत्रको विकासमा ग्यालरीले यो वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताइन्। २० दिन सञ्चालन हुने प्रदर्शनीमा ३० वटा चित्र राखिएका छन्। प्रदर्शनीमा सात हजार पाँच सयदेखि २५ हजार मूल्यसम्मका चित्र छन्।
Share To:

तपाईको प्रतिक्रिया :