कसैले भनेकै भरमा प्रधानमन्त्रीले सरकार नछाड्ने सञ्चारमन्त्रीको भनाइ
एमाओवादी सचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सत्तारुढ गठबन्धनको प्रमुख घटक एकीकृत नेकपा माओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका छन् ।

पुनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर ल्याउँनु पर्नेमा आफूहरुसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा आफूहरुलाई समेत जानकारी नरहेको दाबी गरे ।

सचिव पुनले काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा भने, ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डसँग एकशब्द समेत छलफल नगरी मंसिरमा चुनाव गर्ने कुरा ल्याइएको छ । अहिलेको संविधानले गाविस चिन्दैन अनि केको निर्वाचन गर्ने ? यसरी छलफल नै नगरी सस्तो लोकप्रियताको लागि नीति तथा कार्यक्रम ल्याउँदा पछि समस्या हुन्छ । नौ बुँदे सहमतिका कुराहरु यसमा परेका छैनन् । सरकारको आयूकै विषयमा प्रश्न उठिरहेको बेला दिर्घकालिन विषयहरु ल्याउनु राम्रो होइन ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा नीति तथा कार्यक्रम गठबन्धनको संस्कार र शैली अनुसार नआएकोले यसमा आफूहरुको आलोचनात्मक समर्थन रहने स्पष्ट पार्दै बजेट ल्याउँदा सबैलाई सहमति र विश्वासमा लिएर ल्याउनु पर्ने सुझाव दिए ।

सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनु पर्ने भन्दै बजेट पारित गर्दा सम्म आफूहरु बर्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पारे ।

सचिव पुनले भने, ‘केही राजनीतिक सहमति भएका छन । त्यसलाई राजनीतिक रुपमै राख्नु पर्छ । जुन दिनसम्म यो सरकार रहन्छ हामी यसको समर्थनमा रहन्छौं । अहिले नै सरकार परिवर्तनको कुरा गरेर अस्थिर बनाउनु हुँदैन । सहमतिको सरकार गठनको लागि प्रयास गर्छौं ।’

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै कसैले भनेकै भरमा सरकार नछाड्ने स्पष्ट पार्दै सरकार परिवर्तनको लागि प्रक्रियाबाट गएर अविश्वासको प्रस्ताव राख्न सक्नु पर्ने बताए ।

उनले अहिलेको सत्तारुढ गठबन्धन सत्ताको लागि मात्रै नभई संविधान बुझेका दलहरुको भएको उल्लेख गर्दै सहमतिको सरकार बन्ने भए एमाले सहितको बन्ने अन्यथा एमालेलाई अलग राखेर सहमति बन्नै नसक्ने ठोकुवा गरे ।

मन्त्री राईले भने, ‘राष्ट्रिय सहमतिको ढोका खुल्ला छ । सहमतिबाट कांग्रेस आफैँ बाहिरिएको हो । अहिले मुलुककोलागि प्रतिपक्ष आवश्यक छैन । सहमतिको सरकार बन्ने भए एमालेसहितको सरकार बन्छ । एमालेलाई अलग गरेर सहमतिको सरकार बन्न सक्दैन र त्यस्तो सरकारले राष्ट्रिय समस्याको समाधान पनि गर्न सक्दैन ।’

मन्त्री राईले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने स्पष्ट पार्दै अब आउने बजेट नेपालको इतिहासमै सबैभन्दा जनमुखी बजेट हुने ठोकुवा गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम कपोकल्पित, कर्मकाण्डी श्लोक जस्तो, अपच हुने मिठो रस जस्तो भएको भन्दै यो कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे ।
Share To:

तपाईको प्रतिक्रिया :