काठमाडौं, ६ साउन । शीर्ष नेताहरुबीच संसद सञ्चालनका विषयमा सहमति हुन नसक्दा २ बजे शुरु हुने भनिएको संसद बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । आज ११ बजे तोकिएको संसदको बैठक दलहरुबीचको असहमतिका कारण हुन नसकेपछि सभामुखले एमाले, कागे्रेस र माओबादीका शीर्ष नेताबीच बैठक गरी सहमति जुटाउने र २ बजेट संसद बैठक शुरु गर्ने कार्यक्रम तय गरेकी थिइा । तर, शीर्ष नेताहरुको बैठकमा पनि सहमति बन्ने लक्ष्ण देखिएको छैन ।
सुत्रका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा आक्रमक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री ओलीले बहुमत पुग्दैमा जे पनि गर्न नपाउने भन्दै सभामुख ओनसरी घर्तीप्रति समेत असन्तुष्टि पोखेका छन् । बजेटसम्बन्धी विधेयक रोकेर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा अगाडि बढाएपछि असन्तुष्ट प्रधानमन्त्रीले बिहीबार बिहान सभामुखले डाकेको बैठकमा विधि नमिच्न आग्रह गरेको स्रोतले जनायो । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘‘बहुमतले चलाउने हो भने जे गरे पनि भइहाल्यो नि, किन सोध्दै हिंड्नुर्पयो ?’’काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने,‘याद गर्नुहोसे, म त्यतिकै कुर्सी छोड्दिन, विधि र प्रक्रियाबाट भाग्ने काम ओलीले गर्दैन, अविश्वासको प्रस्ताव ल्याउने अनि राजिनामा गर भन्ने ? अविश्वासको प्रस्ताव फिर्ता गर्नुहोस, अनि मात्रै म राजिनामा गर्छु ।’
प्रधानमन्त्रीले आफू संसदीय मूल्य मान्यताविपरीत नभएको भन्दै विगतका अभ्यासअनुसार कारबाही अगाडि बढाउन सभामुखलाई आग्रह गरे । ‘यस्ता विषयमा कम्तिमा जानेबुझेकालाई पनि सोध्नुपर्छ र अघि बढ्नुपर्छ,’ उनको भनाई थियो ।
यता काँग्रेस सभापति देउवाले ओलीलाई अल्पमतमा परिसकेकोले तत्काल राजिनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । देउवाले अहिलेको अवस्थामा आश्रित विधेयकमाथि छलफल अघि बढाउनै नसकिने अडान दोहो¥याए । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई जिद्दिवाला नेताको टिप्पणी गरेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘ओलीजी तपाई यतिको जिद्दि हुनुहोला भनेर मैले थाहा पाएको भए, तपाईलाई प्रधानमन्त्री बनाउने थिईंन् ।’


तपाईको प्रतिक्रिया :