माओवादीले ओली सरकारको समर्थन त्यागेपछि ओली सरकार प्राय ढल्ने निश्चित जस्तै भएको अवस्था छ । केपी ओली नेतृत्वको सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका योजनाकारहर हुन् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड र, दुबै नेता अविश्वासको प्रस्तावअघि बजेटसँग सम्वन्धित विधेयकहरू पास हुन नलिने अडानमा छन्, जसको भित्री कारण हो ‘ओली फोबिया ।’
प्रमुख तीन दलवीच सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीको पहलमा बिहीबार शीर्ष नेताहरुवीच दुईपटक वार्ता भयो । तर, ओली, प्रचण्ड र देउवाले अडान छाडेका छैनन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बजेटसँग आश्रति विधेयक पेश नभई अविश्वासको प्रस्ताव पेश भए संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ ।
नेताहरुले अडान नछाड्दा बिहीबारको संसद बैठक शुक्रबारका लागि सरेको छ । उसो त बिहीबारको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले ‘प्याकेज सहमति’को प्रस्ताव पेश गरेका छन् । तर, यसमा सहमति जुट्ने सम्भावना अझैसम्म देखिएको छैन । भोलिसम्म सहमति गर्ने भन्दै संसद बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।
स्रोतहरुका अनुसार माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा अझै पनि बजेटसँग आश्रति विधेयक पास गर्न दिन तयार छैनन् । यसका पछाडि डरले ठूलो काम गरेको छ ।
स्रोत भन्छ प्रचण्ड र देउवालाई डर छ कि यदि अविश्वासको प्रस्ताव पहिले पास नगर्ने हो भने प्रधानमन्त्री ओलीले चुनाव घोषणा गर्छन् ।
यद्यपि केपी ओलीले चुनाव घोषणा नै गरे पनि संसद विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको माओवादी र कांग्रेसका शीर्षनेताहरुको बैठकमा नेताले विश्लेषण गरेका छन् । तर, प्रचण्ड र देउवा अझै पनि विनियोजन विधेयक पास गर्न दिन तयार नभएको कांग्रेसका एक नेता बताउँछन् ।
संविधानको धारा २९६ को १ मा नयाँ संविधान जारी भएपछि संविधानसभा स्वत संसदमा रुपान्तरण हुने र त्यस्तो संसद ०७४ माघ ७ गतेसम्म कायमै रहने उल्लेख छ भने उपधारा २ मा यदि त्यसपघि नै केन्द्रीय संसदको चुनाव हुने अवस्था आएमा मनोनयन दर्ता नहुँदासम्म यो संसद कायमै रहने प्रष्ट व्यवस्था छ ।
नेताहरुका अनुसार बजेट आश्रति विधेयकको पक्षमा भोट हाल्नु नपरे हुन्थ्यो भन्नेमा कांग्रेस र एमाले दुबै सहमत छन् । तर, यदि त्यसलाई फेल गर्ने हो भने कर उठाउन नैतिक संकट आउने भएकाले के गर्ने भन्नेमा निर्णय लिन गाह्रो भएको छ ।
कांग्रेस सभापति देउवासहितका नेताहरुले यदि अविश्वासको प्रस्ताव अघि बजेटसँग सम्वन्धित विधेयक पास गरे ‘सरकारले विश्वासको मत पायो, अब अर्को ६ महिना अविश्वासको प्रस्ताव पेश गर्न पाइँदैन’ भनेर अदालत जाने खतरा देख्छन् । एमाले यस्तो चलखेल गर्ने र यसले सरकार गठनको प्रक्रिया लम्बिने देउवालाई डर छ ।



तपाईको प्रतिक्रिया :