बिहीबार राति परेको पानीका कारण झरेको पहिराले अवरुद्ध बैतडीको खोड्पेदेखि बझाङको सदरमुकाम चैनपुरसम्मको जयपृथ्वी राजमार्ग छ दिनपछि सञ्चालनमा आएको छ ।


जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मटेला– ३ मा पर्ने जाल्या बगर आसपासका १५ स्थानमा र रायलको दिउरामा गएको पहिराले अवरुद्ध भएको राजमार्ग लामो प्रयासपछि आज सञ्चालनमा आएको जानकारी दिए।

पहिराका कारण राजमार्ग अवरुद्ध हुदा यातायात पूर्णरुपमा बन्द भएका थिए । बझाङमा एउटै पनि जेसिभी डोजर नहुदा बैतडी र डडेल्धुराबाट ल्याइएको डोजरले पहिरो पन्छाइएको हो ।

राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रने कुनै पनि गाडी चल्न नसक्दा यात्रु अलपत्र पर्नाका साथै जिल्लामा खाद्यान्न अभाव हुने सङ्केत देखिएको थियो ।
सडक अवरुद्ध हुँदा काठमाडौँं, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम र बैतडीका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका गाडी तथा यात्रु आ–आफ्नो गन्तव्यतिर लागेका छन् । यसअघि पनि पहिराकै कारणले उक्त राजमार्ग बेला बेलामा अवरुद्ध हुँदै आएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :