मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले एक रिपोर्ट सार्वजनिक गर्दै कैलालीको टिकापुरमा भएको घटनापछि त्यस क्षेत्रका आदिवासी थारु समुदायमाथि प्रहरीले ज्याददती गरेको उल्लेख गरेको छ ।


२०७२ साल भाद्र ७ गते टिकापुरमा प्रदर्शनकारी प्रहरीबीच भिडन्त हुँदा ८ जना सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । घटनापछि प्रहरीले त्यस क्षेत्रका थारु समूदायका सदस्यलाई बिनाकारण धरपकड गर्ने, यातना दिने र खराब व्यवहार गर्ने गरेको रिपोर्टमा उल्लेख छ ।

धनगढी र कैलालीमा पक्राउ परेकाहरुसँग कुराकानी गरेपछि उक्त रिपोर्ट सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु मनोमानी ढंगले पक्राउ गरिएको र उनीहरुमाथि हत्या, हत्याको प्रयास र चोरीको आरोप लगाइएको रिपोर्टमा उल्लेख छ । धनगढी जेलमा रहेकाहरुले आफूहरुलाई बाँसको लठ्ठी, बन्दुकको पिँधले पिट्ने गरेको र झापड हान्नेदेखि अपशब्द बोल्ने गरेको बताएका छन् । एक १४ वर्षीय बालकलाई पनि यातना दिइएको बताइएको छ।

पक्राउ परेकाहरुले आफूहरुलाई कुन अरोपमा पक्राउ गरेको प्रहरीले नखुलाएको र वकिलसँग पनि सल्लाह गर्न नदिएको एम्नेस्टी इन्टरनेसलले जनाएको छ । प्रहरीले यातना दिएर आफूहरुलाई गल्ती स्वीकार्न लगाएको पनि रिपोर्टमा बताइएको छ ।

एम्नेस्टी इन्टरनेसनलले सम्बन्धित पक्षलाई तत्कालै ज्यादती बन्द गरेर निष्पक्ष ढंगले घटनाको छानबिन गर्न आग्रह समेत गरेको छ ।
Share To:

तपाईको प्रतिक्रिया :