नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ ले प्रयोग गरेको खुलासा नेकपा माओवादी केन्द्रकै नेता आरसी न्यौपानेले गरेका छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढाल्न देशीविदेशी चलखेल भइरहेको आरोप लागिरहेका बेला माओवादीकै नेताबाट अध्यक्ष दाहाल नै ‘रअ’ र ‘सीआईए’ को गोटी बनेको ठोकुवा आएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
माओवादीको महाधिवेशन आयोजक समिति सदस्यसमेत रहेका नेता न्यौपानेले बिहीबार सामाजिक संजाल ‘फेसबुक’मार्फत दाहाल विदेशी गुप्तचर संस्थाबाट प्रयोग भएको खुलासा गरेका छन् । नेता न्यौपानेले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमण रोक्न र बाम गठबन्धन टुटाउन अध्यक्ष दाहाललाई प्रयोग गरेको ठोकुवासमेत गरेका छन् ।‘विश्वस्त स्रोतका अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्न, बाम गठबन्धन टुटाउन, माओवादी केन्द्रको चीनसँगको बन्दै गइरहेको असल सम्बन्ध ध्वस्त पार्न मात्र प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर ‘रअ’ र ‘सीआईए’ ले माओवादीको टाउकाको मूल्य तोक्ने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रयोग गर्दै यो खेल खेलेको छ,’ नेता न्यौपानेले फेसबुकको आफ्नो पेजमा लेखेका छन् ।


तपाईको प्रतिक्रिया :