नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएपछि दिउँसो उनले जुस पिए ।

ओम अस्पतालका प्रबन्ध सञ्चालक हरिकृष्ण श्रेष्ठका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले झोलिलो खानेकुरा दिन सुरु गरिएको हो । उपचारमा संलग्न चिकित्सकले महामन्त्री कोइरालाको पछिल्लो स्वास्थ्य जाँचका प्रतिवेदन सामान्यतर्फ उन्मुख रहेको बताए ।
बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने स्वास्थ्यमा सुधार देखिएसँगै बिहीबारदेखि भेन्टिलेटरबाट सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डा. लव जोशीले उनलाई कुनै सङ्क्रमण नहोस् भनेर भेटघाटमा सर्तकता अपनाएको जानकारी दिए ।
मङ्गलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि डा. कोइराला ओम अस्पतालमा भर्ना भएका थिए । बुधबार बिहान वान्ता भएपछि खाना सर्किँदा महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।


तपाईको प्रतिक्रिया :