अविश्वास प्रस्तावमाथि छलफलको समय नजिकिदैं जाँदा राजीनामा दिने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । सरकारबाट बाहिरिएर आफूविरुद्ध नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि कसरी अघि बढ्ने भन्ने विषयमा राजनीतिक परामर्शलाई तीब्रता दिएका हुन् ।
सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमै छलफल गरेका प्रधानमन्त्री ओलीले मंगलबार सभामुख ओनसरी घर्ती मगरसँग छलफल गरेका हुन् । ओलीले हिजै राति कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहसँग पनि छुट्टा छुट्टै भेटेका थिए ।
सभामुख घर्तीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले आगामी ६ गतेका लागि बोलाइएको संसद बैठक लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । सभामुखले एमालेको सहमतिविना संसद बैठक ६ गतेका लागि सारेको र आश्रित बजेटलाई कार्यसूचीबाट हटाएको भन्दै एमालेले आपत्ति जनाउँदै आएको छ ।
सभामुख घर्तीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्तावको सूचना आइसकेकाले आफूले स्वविवेकले निर्णय गर्दै अविश्वासको प्रस्तावलाई मात्रै संसद बैठकको कार्यसूचीमा राखेपछि प्रधामन्त्री ओलीसहित उनको दल एमालेले असन्तुष्टि जनाउँदै आएको छ । सरकारले आश्रित बजेटलाई कार्यसूचीबाट हटाएर सभामुख विवादित बन्न खोजेको आरोप लगाएको छ। तर, सभामुख घर्तीले भने आफूले सबै दललाई समान रुपले हेरेको र सभामुखको हैसियतले आफ्नै विवकेले निर्णय लिँदै आएको बताएकी छिन् ।
Share To:

तपाईको प्रतिक्रिया :