सार्वजनिक यातायात व्यवसायी समितिले गरेको यातायात बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ।

बस संचालनको विषयमा भएको विवाद र प्रहरीले दमन गरेको भन्दै सुदूरपश्चिमका विभिन्न ८ वटा बस समितिहरुले गाडी सञ्चालनमा नल्याएपछि यात्रुहरु मर्कामा परेका हुन्।

शुक्रबार गाडी संचालनको विषयमा भएको विवादलाई लिएर प्रहरी प्रशासनले मिलाउनुको साटो प्रहरी हस्तक्षेप गरि मजदुरहरुमाथि लाठी चार्ज गरेको आरोप लगाउँदै अनिश्चितकालिन यातायात बन्दको घोषणा गरिएको सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष एवं संयुक्त आन्दोलन परिचालन समितिका संयोजक टेकराज जोशीले बताए।

प्रहरी हस्पक्षेप गरी हिरासतमा लिइएका मजदुरहरु टेक खड्का, पृथ्वी जोशी, राम थापा, यादव ऐर र चन्द्र प्रसाद मिश्रालाई विना सर्त रिहा गरिनु पर्ने बताउँदै संयोजक जोशीले प्राली दर्ता गरी यात्रुहरुलाई सेवा दिनुको साटो पुराना गाडीहरु ल्याएर बडि मालिकाले प्रहरी प्रशासनलाई समेत गुमराहमा राखेको आरोप लगाए।

सुदूरपश्चिम यातायात व्यवसायी संघले थालेको आन्दोलनलाई समर्थन जनाउँदै कैलाली टेम्पो तथा वस व्यवसायी समिति धनगढी, शैलेश्वरी यातायात प्राली डोटी, कर्णाल रिभर साईड यातायात व्यवसायी संघ धनगढी, महाकाली सेती यातायात व्यवसायी समिति महेन्द्रनगर, पवनदुत यातायात व्यवसायी संघ महेन्द्रनगर, उग्रतारा सार्वजनिक यातायात व्यवसायी संघ डडेल्धुरा र महाकाली टेम्पो तथा ट्याक्सी व्यवसायी समिति महेन्द्रनगरले आफ्ना सबै सेवाहरु ठप्प पारेका छन्।
Share To:

तपाईको प्रतिक्रिया :