अन्तत: प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने मुडमा पुगेका छन् । सोमबार साँझको तीन दलको बैठकपछि उनी सहमति बनेमा राजनीनामा दिने मुडमा पुगेको स्रोतले बताएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले आफू सहमतिमै अगाडि बढ्न चाहेको बताएका थिए । ‘राजीनामा र अविश्वास सँगसँगै जाँदैन, राजीनामा भनेको समझदारीमा हुने कुरा होे”–प्रधानमन्त्रीको भनाइ उद्धृृत गर्दै रिमालले भने “प्रधानमन्त्रीले म बाधक बन्ने छैन, राष्ट्रमा अफ्ठ्यारो परेका बेला समझदारीमै, नभए संवैधानिक हिसाबले जानुपर्छ भन्नुभएको छ ।”
छलफलमा प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको र त्यसलाई सभामुखले कार्यसूची अघि बढाइसकेका अवस्थामा कसरी समझदारी हुन्छ भनी दुवै नेतालाई प्रश्न गरेका थिए । सहमति र समझदारीबाट देशलाई अफ्ठ्यारोबाट जोगाउनुपर्ने प्रधानमन्त्रीको धारणा रहेको रिमालले बताए । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल काँग्र्रेसका सभापति देउवा र हालै सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रका अध्यक्ष दाहाललाई तीन दलबीच छलफलका लागि आग्रह गरेका थिए ।
छलफलपछि मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलबाटै समाधान खोज्न प्रमुख तीन राजनीतिक दल सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो बैठकमा सत्ता समीकरणका विषयमा देखिएको आपसी तिक्ततालाई छलफल र सहमतिबाटै समाधान खोज्न नेताहरु सहमत भएका हुन् । बैठकमा मुलुकको राजनीतिक अवस्था, बजेटसँग जोडिएका विधेयक र व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा सकारात्मक कुराकानी भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिस्थिति, बजेटसँग सम्बन्धित विधेयक र अविश्वासको प्रस्तावमा कसरी राजनीतिक दलबीच समझदारी बनाएर जाने भन्नेबारे आफूहरुबीच कुराकानी भएको जानकारी दिए ।
बैठकमा दुवै नेताले नयाँ परिस्थितिमा राजनीतिक निकासका लागि सहज वातावरण बनाइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । “हामीले भन्यौँ कि, परिस्थिति नयाँ भएको छ, प्रमुख दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परिसकेकाले प्रधानमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिए बजेटका आश्रित विधेयक पनि पारित हुन्छन्, अन्य समस्या पनि हल हुन्छ, प्रधानमन्त्रीले संविधानको केही व्याख्यामा अन्तर परेको र संसद्मा अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले त्यसको सामना नगरी त्यत्तिकै कहाँ राजीनामा दिने भन्ने ढङ्गले कुरा गर्नुभयो,”–अध्यक्ष दाहालले भने। उक्त विषयमा फेरि पनि दुईरतीन दिन समय बाँकी रहेकाले छलफललाई जारी राख्ने उनले बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे सकारात्मक कुराकानी भएको प्रतिक्रिया दिए ।



तपाईको प्रतिक्रिया :