अग्लो कद, मिलेको शरीर, सुन्दर अनुहार, आकर्षक व्यक्तित्व नेपाली सिनेमाको नायक बन्ने न्युनतम योग्यता हो । तर यो मान्यतालाई चिर्दै चिम्सा आँखा, मोटो शरीर बोकेर दयाहाङ राईको नेपाली सिने जगतमा प्रवेश भयो । अहिलेका सर्वाधिक चर्चित नायक दयाहाङ राई  हुनलाई उनले थुप्रै संघर्षको कथा छिचोलेका छन् । तिनै लोकप्रिय कलाकार दयाहाङ राईको जीवनी हामी प्रस्तुत गर्दैछौँ ।
जन्म र बाल्यकाल
विसं २०३७ साल वैशाख १ गते आइतबार अर्थात सन् १९८० अप्रिल १३ मा भोजपुरको विकट गाविस खावामा  बुवा टिकाराम राई र आमा चन्द्रदेवी राईको कोखबाट जन्मेका हुन् दयाहाङ । मध्यम वर्गको परिवरमा जन्मिएका उनको परिवारमा सात जना छन् भने उनका दुई आमा छन् ।  बाल्यकाल पूर्र्णरुपमा खेतीपाती र गोठालोमा बिताएका दया सानैदेखि एकदमै लजालु र अन्तर्मुखी स्वभावका थिए ।
खेल्ने क्रममा चोटपटक लागे पनि त्यो घाउ लुकाएर राख्दथे । यस्ता कुरा भनेमा बुवा आमालाई दुःख लाग्छ भन्ने उनको सोचाई थियो ।  एकदमै अन्तर्मुखी स्वभावका दयाको हत्तपत्त साथी पनि हुँदैन थियो । उनी स्कूल बिदाका दिन खोलाका किनारामा अनौठा प्रकृतिका ढुङ्गा बटुल्न जान्थे भने खेलौनाहरु आफ्नो लागि आफै बनाउँथे । बाल्यकालमा उनले संकलन गरेका समाग्री र बनाएका खेलौनाहरु अझै पनि उनले सुरक्षित राखेका छन् ।
शिक्षा
दयाले निम्न माध्यमिक शिक्षा पशुपति निम्न माध्यमिक विद्यालय खावाबाट पूरा गरेका हुन भने अन्नपूर्ण माध्यमिक विद्यालय दिल्पाबाट २०५५ सालमा एसएलसी पास गरेका हुन् । उनी सानैबाट नाटक सुन्ने र लेख्ने कार्यमा रुची राख्थे । नाटकमा रस भर्न खासमा उनकी आमाको ठूलो हात छ । आमाले उनलाई दर्जनौँ लोक कथा र नाटकहरु सुनाउनुहुन्थ्यो । विद्यालय स्तरमा हुने अतिरिक्त क्रियाकलापमा आफ्नो कलाकारिता पस्कन्थे । दयाले उच्च माविको पढाई भोजपुर क्याम्पसबाट भूगोल विषयमा पूरा गरेका हुन भने २०५८ मा काठमाडौं आएर  आरआर क्यामपसमा पत्रकारिता विषयमा भर्ना भए  । कलाकारितामा लागेको कारण उच्च शिक्षा राम्ररी अगाडि बढाउन नसकेका दया नाटकमा बिस्तारै भिज्दै गए ।
काठमाडौं यात्रा र संघर्ष, कलाकारीता
काठमाडौं छिरेसँगै उनको संघर्षको कथा सुरु भयो । काठमाडौंमा आफन्तकोमा बस्ने भएर उनलाई खासै समस्या नभए पनि कलाकार बन्न उनले निकै मिहनत गरे । २०६० सालमा कलाकारितासँग जोडिएका दयाले २०६३ सालमा एक्टर स्टुडियोमा नाटकको काम सिक्न थाले ।
त्यसअघि उनले “युवा” नामक पहिलो टेलिफिल्म खेले भने कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने “हाम्रो टिम” नविन सुब्बाले निर्देशन गरेको “दलन” टेलिफिल्ममा पछि काम गरे । दलन टेलिफिल्म सुटिङ भएको ६ वर्षपछि २०६६ मा नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । रामबाबु गुरुङको फिचर फिल्म अनागरिकमा अभिनय गरेपछि नेपाली सिनेमामा उनको इन्ट्री भयो ।
मेरो एउटा साथी छ, दासढुङ्गा, आचार्य जस्ता फिल्ममा काम गरिसकेपछि २०६९ सालमा बनेको लुटमा गोपाल गुरुङ अर्थात गोफ्लेको चरित्रले उनलाई एकाएक चर्चित बनाए । नरेन्द्र महर्जन र माधव वाग्लेद्वारा निर्माण गरिएको निश्चल बस्नेतको निर्देशनको चलचित्र लुट नै जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । त्यस पछि उनले आजको दिनसम्म  पछाडि फर्केर हेर्न परेको छैन ।
प्रेम र विवाह
कलाकारितमा संघर्ष गर्दै गर्दा दयाको एक युवतीसँग अनौठो सम्बन्ध जोडिन पुग्यो । पछि तिनै सम्बन्ध झाँगिएर प्रेम र विवाहमा परिणत भयो २०६३ सालमा  गायिका बेनुका राईसँग । भनिन्छ यात्रा गर्दा एउटा खुट्टा अघि हुँदा अर्को खुट्टा पछि पर्छ नै त्। यतिबेला न अगाडि पर्ने खुट्टाले घमण्ड गर्छ न पछाडि परेको खुट्टाले हिनताबोध । किनकी त्यो अवस्था पलभरमै परिवर्तन हुन्छ ।
सायद यही कुरालाई बुझेको हुनुपर्छ बेनुकाले पनि । उनको आवजमा केही गीत रेकर्ड गरेको भएता पनि दयाको फिल्मी करिअरलाई साथ दिन यतिबेला उनी  पूर्ण रुपमा गृहस्थी भएकी छन् ।  दया र बेनुकाको मायाको बारीमा सम्दुहाङ नाम गरेको फूल पनि छ ।
बेलाबेलामा दयाको बारेमा  फिल्मी नगरीमा चल्ने हल्लाखल्लाले उनीहरुको सम्बन्धमा केही फरक आएको छैन । किनकी एकआपसलाई गर्ने विश्वासले नै सम्बन्ध बलियो बनाइ दिएको छ ।
अन्त्यमा
उनले अहिले सम्म दासढुङ्गा , सम्बोधन , कबड्डी कबड्डी गरेर तीनवटा राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेका छन् भने अन्य विभिन्न संघसंस्थाले आयोजना गरेका अवार्ड कार्यक्रमबाट दर्जन बढी अवार्ड आफ्नो पोल्टामा पारिसकेका छन् । उनको चलचित्रहरु हलमा लाग्ने वित्तिकै दयाले अब हसाउछन् भन्ने धेरै दर्शकले सोच राख्छन् ।
अनागरिक, मेरो एउटा साथी छ, दासढुङ्गा, मेरो लव स्टोरी, लुट हुँदै एक दशकमा उनले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । यस दौरानमा उनलाई पैसाको प्रलोभनमा केही स्तरहीन र कमजोर कथाबस्तुका फिल्म खेलेको भन्ने आरोप पनि लागेको छ । तथापी दयाहाङ राईलाई लिएर फिल्म बनाउनेको भिड अझै कम भएको छैन ।
उनका केही प्रशंशकहरुले भन्ने गर्छन राजेश हमाल जस्ता महानायकको युग समाप्त पारेर नयाँ युग सुरु गर्ने कलाकार नै दयाहाङ राई हुन ।  लामो कलायात्राको लागि दयालाई हाम्रो शुभकामना ।
भिडियो

Share To:

तपाईको प्रतिक्रिया :