बुधबार रिलिज हुने सलमान खानको 'सुल्तान'ले नेपाली वक्सअफिसमा आक्रामक व्यापार गर्ने स्पष्ट संकेत गरेको छ। नेपाली हलहरूले गरेको एड्भान्स बुकिङ्मा उछाल देखिएको छ। नेपाली हलहरू विशेषगरी मल्टिप्लेक्स हलहरूले फिल्मका लागि आजबाट बुकिङ् खोलेका छन्।
हलहरूले आफ्नो सिट क्षमताको अधिक्तम ८० प्रतिशतसम्म 'एड्भान्स' बुकिङ्' लिने गरेका छन्। मल्टिप्लेक्स हलको चेनमा सबैभन्दा अग्रणी र ठूलो 'क्यूएफएक' अन्तरगतका हलहरूले काठमाडौंमा रहेका ९ पर्दाका लागि झण्डै ३० शोका लागि बुकिङ् खोलेका छन्। यी शोले शनिबारसम्म निरन्तरता पाउने छन्।
त्यस्तै चाबहिलस्थित एफ क्यूब टावरले ३ पर्दाका लागि १३ शो प्रतिदिनले बुकिङ् खोलेको छ भने सिटी सेन्टर स्थित बिग मुभिजले ३ पर्दामा १० शो दिएको छ। त्यस्तै दरबारमार्ग स्थित क्यूज सिनेमाले आफ्नो २ पर्दामा १० शो दिएको छ। अन्य मल्टिप्लेक्सहरूले पनि 'सुल्तान'का लागि सम्भव भएसम्मको अधिक्तम शो उपलब्ध गराएका छन्।
सेतोपाटीसँग कुरा गर्दै 'क्यूएफएक्स' अन्तरगत जय नेपाल र कुमारी हलका म्यानेजर विनोद पौडेलले दिएको जानकारी अनुसार दर्शकको चापलाई ध्यानमा राख्दै अधिक्तम शो राख्नु परेको बताए। फिल्मको एड्बान्स बुकिङ्मा समेत त्यसको स्पष्ट प्रभाव देखिएको उनको भनाइ छ।
त्यस्तै एफ क्यूबका अरून रिजालले 'सुल्तान'को आजबाट बुकिङ् सुरू भएको र राम्रो बुकिङ् हुनेमा आशावादी रहेको जानकारी दिए भने क्यूज हलका म्यानेजरले पनि दर्शकको चापका कारण नै अत्याधिक संख्यामा शो दिनुपरेको बताएका छन्।
सलमानको फिल्म प्रति हलवालाको सदाशयता उक्त फिल्मले गर्ने सम्भावित व्यापार हो। बलिउड स्टारहरूमा सलमान नेपालमा सबैभन्दा बिकाउ स्टार हुन्। उनका फिल्मले शतप्रतिशत ओपनिङ् गर्ने गरेको छ।



तपाईको प्रतिक्रिया :