बझाङ, साउन १३ – बझाङको कोटभैरव गाविसकी सुर्मा बादी सात वर्ष पुग्न लागिन् । उनको अघिल्लो वर्ष नै गाउँकै राजु बादीसँग विवाह गर्ने कुरा छिनिएको हो । १५ वर्षका उनका हुनेवाला श्रीमान राजुले सुनाए ‘विवाह खर्च जुटाई सकेका छैनौं । खर्चको जोहो भए यही दसैँमा, नभए मंसिरमा विवाह गर्ने योजना छ ।’
कानुन अनुसार विवाहका लागि केटीको उमेर १८ र केटाको उमेर २० वर्ष पुग्नु पर्छ । तर यहाँका बादीलाई त्यो कानुन न थाहा न वास्ता नै । यौन, प्रजनन र स्वास्थ्यका हिसाबले पनि ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नारा नै तय गरिएको दुई दशक पुग्न लागि सक्यो । तर बझाङका बादी समुदायलाई न सरकारको नियमको बारेमा थाहा छ । न त स्वास्थ्यका दृष्टीले बिहे गर्ने उपयुक्त उमेर कहिले हो भन्ने नै ख्याल छ । प्राचिन समाजको झल्को दिने गरि कलिला काखे नानीलाई दुलहा दुलही बन्न बाध्य पारिन्छ ।

भाँडाकुटी खेल्दै गरेको अवस्थामा भेटिएकी सुर्मालाई भने आफ्नो विवाह हुने कुरा थाहै रहेनछ । दसैँमा विवाह हुने र अघिल्लो वर्ष बोका काटेर उनको विवाह तय भएको कुरा छिमेकी सविता बादीले सम्झाएपछि उनी तर्सिन ‘नाई मत बिहे गर्ने हैन’ उनले सवितासँग बालसुलभ पारामा भनिन् ‘बिहे गर्दिन खोजे भने म त भागेर फुपुको घर जाने हो’ उमेरले उनी आफै भागेर कतै जान सक्ने अवस्था छैनन् ।
अभिभावकको कुरा काट्न सक्ने क्षमता पनि छैन । तर विवाहबाट उनी तर्सेको भने प्रष्ट देखिन्छ । यो एउटा उदाहरण मात्रै हो बझाङको कोटभैरव गाविस र जयपृथ्वी नगरपालिकामा रहेका ४१ परिवार बादीमा उनकै उमेरका धेरैको विवाह भइसकेको छ भने विवाह गर्ने निधो भइसकेका ८ जना बालिकाको यसै वर्ष विवाहको तयारी गरिएको सविताले बताउनुभयो । ‘धेरैजसोको त ३/४ वर्षको उमेरमै कुरा टुंगिन्छ’ उहाँले भन्नुभयो ‘कुरा छिनेपछि ७/८ वर्षकै उमेरमा विवाह गराइदिन्छन् ।’
परम्परादेखि चली आएकोले यो संस्कारलाई आफूहरुले पनि निरन्तरता दिएको बादीहरु बताउँछन् ‘बाजे बराजुका पालादेखि यस्तै चलेको हो’ थलाराका अम्मर बादीले भन्नुभयो ‘हामीले पनि चलन कसरी छोड्न सक्छौ र ?’

बादी समुदायको यो चलन रोक्नका लागि प्रहरीले धेरै प्रयास गरे पनि नसकेको थलारा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक नारायण चन्दले बताउनुभयो । ‘दुवै पक्षको कुरा मिलिसकेको हुन्छ ।’ उहाँले भन्नुभयो ‘यो त बाल विवाह हो, कानुन अनुसार यो मिल्दैन भनेर रोक्न गयौं भने हामीमाथि नै आक्रमण हुने खतरा हुन्छ ।’
कोटभैरव गाविसको बादी बस्तीबाट १० मिनेटको दूरीमा इलाका स्तरको प्रहरी चौकी छ । कोटभैरवलाई बालविवाह मुक्त गाविस घोषणा गर्ने गाविसको लक्ष्य रहेको तर बादी समुदायका कारण यो पूरा गर्न निकै कठिन भएको कोटभैरव स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक धनबहादुर भट्टले बताउनुभयो ।
SOURCE:डिवि विष्ट/उज्यालो ।
Share To:

तपाईको प्रतिक्रिया :