शोधकर्ताहरूका अनुसार ल्यापटपमा काम नलाग्ने अवस्थाका ब्याट्रीको प्रयोग गरी साना घरहरूमा मज्जाले बत्ती बाल्न सकिन्छ । कम्प्युटर कम्पनी आईबीएमले गरेको एउटा अनुसन्धानमा ल्यापटपका लागि प्रयोग अयोग्य ब्याट्रीको परीक्षण गरिएको थियो । खोजले ती ब्याट्रीको पुनः प्रयोग गरी स–साना घर तथा स्थानमा बत्ती बाल्न सकिने निष्कर्ष निकालेको हो । परीक्षणमा सङ्कलित ७० प्रतिशत ब्याट्रीबाट एउटा एलईडी बल्ब १ वर्षसम्म दैनिक ४ घण्टासम्म प्रयोग गर्न सकिने पाइएको थियो । यो प्रविधिको पहिलो परीक्षण भारतको ब्याङ्गलोरमा गरिएको हो ।


सस्तो विकल्प
शोधकर्ताहरूका अनुसार ल्यापटपका लागि अयोग्य तथा पुराना ब्याट्रीको प्रयोग बिजुलीका लागि अहिले उपलब्ध विकल्पमध्येकै सस्तो हुनेछ । यो उपायले बढ्दो इलेक्ट्रोनिक फोहोर नियन्त्रणमा समेत सहयोग मिल्ने निष्कर्ष निकालिएको छ । विकासशील देशका सडक किनारका पसल र झुपडीमा यी ब्याट्रीको प्रयोगले निकै लोकप्रियता पाउने अपेक्षा गरिएको छ ।

वैकल्पिक ऊर्जा
अमेरिकाको म्यासेच्युसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीको रिसर्च म्यागेजिन ‘टेक्नोलोजी रिभ्यू’ले आईबीएमको भारतीय एकाइको यस खोजबारे क्यालिफोर्नियामा हुने एउटा सम्मेलनमा चर्चा गरिने उल्लेख गरेछ छ । यसैबीच, आईबीएमको रिसर्च समूहले अमेरिकामा हरेक वर्ष भारू ५ करोडबराबरका कम्प्युटर फ्याँकिने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । सौर्य ऊर्जा तुलनात्मक रूपमा महँगो भएको चर्चा चलिरहेका बेला बिजुलीको प्रयोगबाट वञ्चित करीब ४० करोड मानिसलाई यो विकल्पले सघाउ पुग्ने आशा गरिएको छ । (एजेन्सी)
Share To:

तपाईको प्रतिक्रिया :