कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लाको भवन निर्माणका लागि खत्री परिवारले रु एक करोड ५० लाखको जग्गादान गरेका छन् । जग्गादाता चन्दननाथ नगरपालिका–४ जुम्लाका नन्दबहादुर खत्री र देवसिंह खत्री हुन् । उनीहरु दुवैमध्ये नन्दबहादुर खत्रीले २५ हजार वर्गमिटर र देवसिंह खत्रीले पाँच हजार गरी जम्मा ३० हजार वर्गमिटर जग्गादान गरेको प्रतिष्ठान जुम्लाका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले जानकारी दिए ।
जिल्ला मालपोत कार्यालय जुम्लाको जिल्ला दररेटअनुसार प्रतिवर्गमिटर रु ५०० का दरले उनीहरुबाट एक करोड ५० लाख रुपैया बराबरको जग्गादान भएको अधिकृत शाहीले बताए। खत्री परिवारद्वारा दान गरिएको जग्गा चन्दननाथ नगरपालिका–५ चेरेचौर भन्ने स्थानमा पर्दछ । जग्गादाता दुवैले पवित्र सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताएका छन् ।
चालु आवबाट चेरेचौरस्थित शिक्षण अस्पतालको भवन निर्माण कार्य सुरु हुने जनाइएको छ । कलेजका लागि ५०० रोपनी जग्गा आवश्यक परेकामा दुई जनाले पहिलो चरणमा ३० हजार वर्गमिटर अस्पताल प्रशासनलाई दिइसकेका छन् । एघार जनाबाट जग्गादानको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । जग्गादाता नन्दबहादुर खत्री र देवीसिंह खत्रीलाई प्रतिष्ठान, जुम्लाले सम्मान गरेको छ ।
प्रतिष्ठानका रेक्टर धर्मराज श्रेष्ठले सामान्य नागरिकको विराट योगदानप्रति उच्च प्रशंसा गरेको छ । समाजसेवी कान्तिका सेजुवालले विभिन्न सङ्घर्षबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जग्गा उपलब्ध गराउन सफल भएको बताए ।
चेरेचौरमा रहेको ५०० रोपनी जग्गा कलेज निर्माणका लागि दिन यहाँका समुदाय तयार रहेको उनको भनाइ थियो । स्थानीयवासी मकर खत्रीले शिक्षा क्षेत्रमा राजनीतिक गन्ध देखिन नहुने भन्दै पवित्र कामका लागि यहाँको समुदाय तत्पर रहेको बताए ।


तपाईको प्रतिक्रिया :