नेपाल सरकारले विक्रम संवत् २०७३ सालका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरेको भए पनि इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा सबैका लागि (सार्वजनिक) कायम राखेको छ।
सोही अनुसार असार २२ गते इद उल फितर परेको हुनाले सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन्।
क्रिसमसका दिन यसअघि सबै धर्मावलम्बीहरुलाई विदा हुँदै आएकोमा यो वर्ष डिसेम्बर २५ (पुस १० गते) आइतबारका दिन इसाई धर्मावलम्बी सरकारी कर्मचारीहरुका लागि मात्र विदा दिइएको छ।
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) र बकर इद (इदुल जोहा) का दिन भने सबै धर्मावलम्बीले सार्वजनिक विदा पाउने व्यवस्था कायमै राखिएको छ।
यस पटक फागु पूर्णिमा (होली) को विदामा पनि परिवर्तन भएको छ। प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाले यसअघि तराईका जिल्लाहरुमा विदा पाउने दिन अर्थात् फागु पूर्णिमाको भोलिपल्ट विदा पाउने गर्थ्यो। यो वर्ष भने फागु पूर्णिमाकै दिन विदा पाउने भएको छ। भोलिपल्ट विदा पाउनेमा झापा छाडेर मोरङदेखि कञ्चनपुरसम्मका तराईका १९ जिल्ला छन्।


तपाईको प्रतिक्रिया :