श्रावण १६, २०७३- दुई जलविद्युत् आयोजनामा उत्पादन बन्द र एउटाको मर्मत गर्नुपरेका कारण वर्षायाममा समेत सर्वसाधारणले लोडसेडिङ समस्या भोगिरहनुपरेको छ । तीन आयोजनाबाट १ सय ३ मेगावाट बिजुली उत्पादन हुन नसक्ता हाल दैनिक ९ घण्टासम्म लोडसेडिङ भइरहेको छ । ती आयोजनाबाट नियमित विद्युत् उत्पादन भइरहेको भए वर्षायाममा दैनिक ५ घण्टाभन्दा कम लोडसेडिङ हुन्थ्यो ।
भूकम्पमा क्षतिग्रस्त भएको भोटेकोसी विद्युत् आयोजनामा हालै आएको बाढीका कारण थप क्षति पुगेको छ । बाढीले भोटेकोसी आयोजनाको इन्टेक (बाँध) मा क्षति पुर्याएको छ । भूकम्पका कारण क्षतिग्रस्त ४५ मेगावाट क्षमताको उक्त आयोजनाबाट डेढ वर्षदेखि विद्युत् उत्पादन बन्द छ । बाढीले क्षति पुर्याएपछि विद्युत् प्राधिकरणको १० मेगावाट क्षमताको सुनकोसी आयोजनाको उत्पादनसमेत बन्द भएको छ ।विद्युत् प्राधिकरणका अधिकारीले वर्षायाममा अकस्मात मर्मत गर्नुपर्ने अवस्था आएका कारण १४४ मेगावाटको कालीगण्डकी आयोजनाबाट समेत विद्युत् उत्पादन घटेको जानकारी दिए । कालीगण्डकी आयोजनाबाट हाल ९६ मेगावाटमात्रै बिजुली उत्पादन भइरहेको छ ।
मर्मतका लागि कालीगण्डकीको ४८ मेगावाट विद्युत् उत्पादन गर्ने एउटा युनिट बन्द गर्नुपरेको छ । कालीगण्डकीमा बालुवा छान्ने पोखरी (डिसेन्डर) र इलेक्ट्रोमेकानिकल टर्बाइनमा समस्या आएपछि एउटा युनिट बन्द गरी मर्मत गर्नुपरेको हो ।
कालीगण्डकीबाट ४८, भोटेकोसीबाट ४५ र सुनकोसीबाट १० गरी कुल विद्युत् उत्पादन १ सय ३ मेगावाट घटेको प्राधिकरणका अधिकारीले बताए । भूकम्पबाट क्षतिग्रस्त माथिल्लो भोटेकोसीमा पुनर्निर्माण काम भइरहेका बेला बाढीले त्यसको बाँधमा क्षति पुर्याएको हो । बाढीले क्षति पुगेको सुनकोसी जलविद्युत् आयोजनाको मर्मत सुरु भइसके पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सकिने अवस्था नरहेको प्राधिकरणका अधिकारीले जानकारी दिए ।
कालीगण्डकीको मर्मत साउन अन्तिमसम्म सकिने प्राधिकरणले जनाएको छ । भोटेकोसी र सुनकोसीमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण कहिलेसम्म भइसक्ने अनिश्चित रहेको जानकारीसमेत ती अधिकारीले दिए ।
हाल मुलुकमा विद्युत्को माग १ हजार ३ सय २५ मेगावाट छ । मुलुकमा आन्तरिक उत्पादन र भारतबाट आयातीत गरी ९ सय मेगावाटमात्र बिजुली आपूर्ति भइरहेको छ । त्यही कारण वर्षायाममा समेत दैनिक १० घण्टासम्म लोडसेडिङ गर्नुपरेको प्राधिकरणका अधिकारीले बताए ।


तपाईको प्रतिक्रिया :