भक्तपुर, साउन १५ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले आउँदो १९ गते माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने बताउनु भएको छ ।
शनिबार भक्तपुरको खरिपाटीमा नेपाली कांग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको संविधान कार्यान्वयन र नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले १९ गतेबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बताउनु भएको हो ।
माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुनेभए पनि सरकार र देश कांग्रेसले चलाउने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘आउँदो १९ गते प्रचण्डको नेतृत्वमा नयाँ सरकार बन्छ, नेतृत्व प्रचण्डको भएपनि अबको १८ महिना नेपाली कांग्रेसको नेतृत्वमा देश चल्छ ।’
संविधान कार्यान्वयनका लागि एमालेलाई पनि साथमा लिएर अगाडि बढ्नु पर्ने औल्याउँदै उहाँले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारसँग गरेको बिभिन्न प्रश्नको जवाफ सरकारले काम गरेर देखाएर दिने टिप्पणी गर्दै थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीले आफूले गरेका सम्झौता र अन्य कामहरु के हुन्छ भनेर राखेको प्रश्नको जवाफ अब बन्ने सरकारले काम गरेर देखाएर दिन्छ, त्यही अनुसार अब कांग्रेस अगाडि बढ्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको बिभिन्न सम्झौताहरु अब बन्ने सरकारले कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नु पर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘नेपालले दुबै देशको हस्तक्षेप सहँदैन, नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसंग पनि खेल्न दिदैनाैँ ।’
वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ भन्ने हावादारी भएको टिप्पणी गर्दै उहाँले आगामी चैत्र अन्तिममा स्थानीय निर्वाचन हुने बताउनुभयो । उहाँले आगामी जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिदै उहाँले जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताउनुभयो ।
निर्वाचनका लागि राजनीतिक र प्राबिधिक वातावरण बनाउनु पर्ने औल्याउँदै मधेशको माग सम्बोधन नभए निर्वाचन असम्भव भएको उहाँको भनाई थियो । निर्वाचन गर्न कै लागि सरकार परिवर्तन भएको जिकिर गर्दै उहाँले आगामी माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्न नसके त्यसबाट उत्पन्न हुने रिक्ततामा धेरैले खेल्ने बताउनुभयो ।
राज्य र मधेश बिचको खाडल अब काँग्रेसले पुर्ने बताउँदै संविधान कार्यान्वयनको यात्रालाई सुरक्षितका साथ काँग्रेसले पुरा गर्ने बताउनुभयो ।
भारतले तराईमा एक पक्षीय ढंगले बाध लगाउनु नौलो र नयाँ कुरा नभएको चर्चा गर्दै थापाले हरेक वर्ष तराईमा यस्तो समस्या आउने र सिमामा रहेका त्यहीका जनताले आफू लडेर सिमाको रक्षा गरेकाले सिंहदरबारमा बस्नेहरुमा भन्दा ती जनता बढी राष्ट्रवादी भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्दीय सदस्य एवं नेपाल महिला संघ की केन्द्रीय अध्यक्ष डिला संग्रौलाले अब बन्ने सरकारसंग धेरै चुनौती र जटिलता रहेको बताउँदै संविधान संशोधन मार्फत बिभिन्न मागहरु सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । विपक्षी दल, साना दल र मधेशवादी दललाई एउटै फ्रेम भित्र ल्याएर काँग्रेस अगाडि बढ्नु पर्ने उहाँको धारणा थियो ।
त्यसअवसरमा सांसद रामेश्वर ढुङ्गेलले अझै पनि संविधान कार्यान्वयन हुन नदिने डरलाग्दो खेल भईरहेको बताउँदै जबसम्म स्थानीइ निकायको निर्वाचन हुदैन तबसम्म संविधान कार्यान्वयन नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेसका पूर्व जिल्ला अध्यक्ष गणेश चक्रधर, नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, कार्यक्रमका सभापति एवं काँग्रेस नगरकोट नगर समितिका सभापति यादव अधिकारीले भक्तपुरलाई एउटै उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिनुभयो ।



तपाईको प्रतिक्रिया :