काठमाडौं, साउन १३ – कालो सिसा भएको कार सामाखुसीको एक घर अगाडि रोकियो । कारमा एक महिलासहित पुगेका ३/४ जना पुरुषले एक महिलाको आँखामा पट्टी बाँधे, मोवाइल खोसेर स्वीच अफ गरे र गाडीमा हाले । कहाँ लगे उनले थाहा पाइनन् ।
गएको मंसिर १४ गते सजिना बस्नेत (नाम परिवर्तन) को जीवनमा सपनामा समेत विश्वास नहुने घटना यथार्त बन्यो । एउटा भनाई छ, ‘विवाहपछि पुरुषको जीवन समाप्त हुन्छ भने महिलाको जीवन सुरुवात हुन्छ ।’ बिहे गरेको केही वर्षसम्म यो भनाई ठ्याक्कै मेल खाएको थियो सजिना बस्नेतको जीवनमा । उनी आफूलाई भाग्यमानी पनि ठान्थिन् । तर समय एकै रहँदैन भने झैं उनको जीवनमा बिस्तारै कालो बादल मडारिँदै गयो ।
विवाह भएको एक दशक भइसक्दा सजिनाले एक छोरा र एक छोरीलाई धर्तीमा पाइला टेकाइसकेकी थिइन् । सबै कुरा राम्रो छ । छोराछोरी पनि भए भन्दै काल्पनिक सुनौलो संसारको आन्नदमा भुल्न थालेकी सजिना बिस्तारै निराश हुँदै गइन् ।
श्रीमान नरेन्द्रराज शर्मा पौडलसँग सजिनाको कुरा मिल्न छोड्यो । दिनहुँजसो उनीहरुको ठाकठुक पर्न थाल्यो । तर श्रीमान श्रीमतीको झगडा परालको आगो भनेझैँ कुरा मिली हाल्ला नि भन्दा पनि उनीहरुबिच कुरा मिलेन । सामान्य कुरामा पनि विवाद हुन थाल्यो ।
‘कुरा मिल्न छोडेपछि श्रीमानसँग बस्न सक्ने स्थिति नभएपछि मैले नेपालगञ्ज प्रशासनमा अंश पाउँ भनेर निवेदन दिएँ’ सजिनाले भन्नुभयो ‘त्यसपछिका दिनमा मलाई झन कुटपिट गर्ने धम्की दिने जस्ता काम भए ।’
सजिनाका श्रीमान नरेन्द्रराज जर्मनीमा काम गर्थे । उनको कमाइ रामै्र थियो । श्रीमतीले छोरीछोरीसहित तीन अंशमध्ये दुई अंश पाउँ भनेर माग गरेपनि उनले अंश नदिन नयाँ बहना बनाएको श्रीमती सजिनाले बताउनुभयो । नेपालगञ्जका उनीहरु काठमाडौंको सामाखुसीमा बस्दै आएका थिए ।
गएको मंसिर १४ कालो सिसा भएको कार उनीहरु बस्दै आएको समाखुसीको घर अगाडि आएर रोकियो । अपहरण शैलीमा दुई तलामाथि रहेकी सजिनालाई एक महिलासहित आएको ३/४ जना पुरुषले गाडीमा हाले । ‘आँखामा पट्टी बाँधियो, मोवाइल खोसेर स्वीच अफ गरियो, तँलाई भारत लगेर बेच्छु भन्दै धम्की दिनुहुन्थ्यो साँच्चै बेच्नै लगे जस्तो लाग्यो’ सजिनाले भन्नुभयो ।
सजिनालाई भारत पुर्याइएन । पुर्याइयो त ललितपुरको ठेचोमा रहेको फेथ ड्रक्स एण्ड अल्कोहल ट्रिटमेन्ट सेन्टरमा । सजिनालाई श्रीमान नरेन्द्रराजले अंश दिनुको साटो कुलतमा फसेकी भन्दै रिह्याबिटेसन सेन्टरमा पुर्याउने र विभिन्न कागजपत्रमा सही गर्न लगाउने योजना रहेको हुन सक्ने महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक इश्वर कार्कीले बताउनुभयो ।
‘नरेन्द्रराजले कुलतमा फसेकाले रिह्याबिटेसन सेन्टरमा लगेको बताएको छ, तर हामीले घटनाको प्रकृती हेर्दा त्यस्तो देखेका छैनौ’ कार्कीले भन्नुभयो ।
गएको मंसिर १४ गते सेन्टरमा पुर्याएदेखि नै आफूलाई सेन्टरभित्र विभिन्न यातना दिएको सविनाले बताउनुभयो । आज छुटिएला भोलि छुटिएला भन्दा भन्दै रिह्यावभित्रै सजिनाका सात महिना बिते । ‘गएको असार २१ गते मैले अनुरोध गरेपछि छोरीसँग कुरा गर्न पाएँ ।
त्यहीबेला श्रीमानसँग पनि कुरा भयो । उहाँले जे भनेपनि मैले हुन्छ भने । म सुध्रिएँ अब बाहिर निस्कन्छु भनें’ सजिनाले भन्नुभयो, ‘मेरा खातामा १२ लाख रुपैयाँ थियो । त्यो पैसा निकाल्न सही गर्न श्रीमान म भएको ठाउँमा आउनुभयो । मैले सही गरेँ । मिलेन । दोस्रो पटक गरेँ मिलेन । अनि मलाई नै बैंक लगियो । पैसा निकालेपछि म रिह्याबिसेन्टर जान मानिन ।’
सजिना रिह्याबिटेसन जान नमानेपछि गाडीमा हालेर थानकोट कटाउन लागिएको थियो । तर ललितपुर प्रहरीले पाएको गोप्य सूचनाका आधारमा गाडीसहित थानकोटबाट पक्राउ गर्यो । काठमाडौंको रिह्याबमा सात महिनासम्म बन्धक बनाउँदा पत्तो नपाएको प्रहरीले थानकोट कटाउन लागेपछि मात्र पत्तो पाएको थियो ।
प्रहरीले श्रीमान नरेन्द्रराज पौडेल, सेन्टरका सञ्चालक ललितपुर–१४ तिखीदेवलका सुभाष खड्का र सेन्टरका कर्मचारी ललितपुर बागडोलका ३१ वर्षे सुधिरचन्द्र अधिकारीको मिलेमतोमा घटना भएको हुनसक्ने भन्दै गएको असार २३ गते उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु तीनै जना बिरुद्ध ललितपुर जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक अन्तर्गत मुद्दा चलेको छ । सञ्चालक खड्का र कर्मचारी अधिकारी ५०/५० हजार धरौटीमा गएको आइतबार रिहा भएका छन् । तर श्रीमान माथि अदालतमा मुद्दा चलिरहेको छ । घटनाको फैसला हुन बाँकी नै छ ।
सञ्चालक खड्काले श्रीमानको भनाईको आधारमा उनकी श्रीमतीलाई सुधार गृहमा राखेको जनाएका छन् । तर खड्काले भनेजस्तो कसैको भनाईको आधारमा कसैलाई पनि रिह्याबिटेसन सेन्टरमा राख्न मिल्दैन । रिह्याबिटेसन सेन्टरले कुनैपनि बिरामीको पृष्ठभूमि बुझ्नु पर्ने हुन्छ ।
तर रिह्याबिटेशनले बिरामीको पृष्ठभूमि नबुझी बन्धक बनाएको प्रहरी नायब उपरीक्षक कार्की बताउनुभयो । ‘मेरो अनुरोध छ जुनसुकै बिरामीको पृष्ठभूमि बुझेर मात्र रिह्याबिसेन्टरले बिरामीको उपचार गर्नुहोला’ उहाँको अनुरोध छ ।



तपाईको प्रतिक्रिया :