साउन १३ - राजीनामा दिएर बालुवाटार छाड्नै लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिस्नुपानीका कलाकार बुधबार बालुवाटार पुगे । कलाकारलाई मन पराउने ओली र ओलीलाई मन पराउने कलाकारहरुको जम्काभेटमा निकै रमाइलो कुराकानी भए ।
कलाकारले ओलीलाई राम्रो काम गरेको भन्दै हौस्याए । त्यति मात्र होइन अब बालुवाटार नबस्नु, छिटै छोडिहाल्नु भनेर व्यंग्य गरे । आफूहरुले व्यंग्यात्मक रुपमा ओलीलाई एक हप्ताभित्र बालुवाटार छाड्न अल्टिमेटम दिएको हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलले उज्यालो अनलाइनलाई जानकारी दिए ।
ओलीसँग भएको भेटलाई कलाकार गजुरेलले आफ्नो वेवसाइट गजुरियल डटकमका यसरी रमाइलो ढंगले प्रस्तुत गरेका छन् :

तपाईं राष्ट्रवादी प्रधानमन्त्री त पर्नु भो, तर सपना बाँड्नु बाहेक के गर्नु भो ?’ सिस्नुपानीका राजनैतिक कमिसार क. अर्जुन पराजुली खनिए । कवि पराजुलीकै शैलीमा प्रधानमन्त्री बोले, ‘मैले त सपना बाँडे पो, यहाँ त सपना बेच्ने गरिन्छ, सपना देख्ने देखाउने गर्नुपर्छ, नत्र यहाँ   ज्युँदै मरिन्छ ।’
सिस्नुपानीका बृगेड कमान्डर टंकराज आचार्य खनिए, ‘जाबो राष्ट्रियता नबेच्ने, बदनामी नकमाउने, नझुकाउने  टाउको, धन्नै जन्मिएको रहेछौ छोरो केपी ओलीको बाउको ’
जवाफमा प्रधानमन्त्री बोले, ‘देशले रगत मागे मलाई बलि चढाउनु, रूँदिनन् मेरी आमा हुन् कुमाईकी छोरी ’ सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले अल्टिमेटम प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीलाई बुझाएको अल्टिमेटम पत्रमा भनिएको छ, ‘विदेशी प्रभुका अगाडी लम्पसार पनि नपर्ने, स्वदेशी प्रभुलाई ज्यु हजुरीपनि नगर्ने, मित्रराष्ट्रको एउटा मागपनि पूरा नगर्ने, भित्ररास्ट्रको बाहेक कुरै नगर्ने, ठाडठाडै बोल्ने, मनको कुरो सप्पै खोल्ने, कुर्सी जाँदापनि मुसुक्क हाँस्ने, धम्की खाँदापनी निर्धक्क बाँच्ने, ‘बालुवाटार’मा बसेरपनि ‘पालुवा बहार’को सपना बाँड्ने तपाईं ओलीलाई प्रधानमन्त्री क्वाटर छोड्न सातदिनको अल्टिमेटम दिइन्छ ।’ जवाफमा प्रधानमन्त्री ओली स्टाइलमा मुस्कुराएका थिए ।
बालुवाटार बाहिर दुईजनाको संख्यामा उपस्थित पत्रकारहरुको विशाल  भीडलाई सम्बोधन गर्दै सिस्नुपानी प्रवक्ता गनोज मजुरेलले भने, ‘हामीहरु ओली पुराण सुन्न र गजुरियल विश्लेषण सुनाउन आएको नभएर ‘बालकोट फर्कँदा प्रधानमन्त्री कार्यालय वा निवासका कुनैपनी सरकारी सामान निजी बनाएर नल्याउनु भन्ने सन्देश दिन आएका थियौं।’
Share To:

तपाईको प्रतिक्रिया :