साउन १३ – धनकुटाको परेवादिन गाविस-५ स्थित सिधुवाबजारको हिलटप होटल नजिकै बिहीबार दिउँसो भएको बस दुर्घटनामा ज्यान जानेको संख्या १३ पुगेको छ । ७ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा ज्यान गएको हो । ज्यान गएकामध्ये ८ जनाको परिचय खुलेको छ । दुर्घटनामा परी धनकुटा हात्तीखर्क घर भएका पूर्व अर्थराज्य मन्त्री तथा माओवादी केन्द्र धनकुटाका अध्यक्ष हरिराज खेवा, धनकुटाको परेवादिन–६ की तारा बस्नेत र उनकी ३ वर्षकी छोरी रेश्मा, परेवादिन–७ धनकुटाकी अतिमाया तामाङ र धरान–२ का बेदप्रकाश अग्रवाल, तेह्रथुम फुलेककी हेमा पौडेल,  धनकुटा मारेकटहरेका बिरबहादुर काफ्ले र बस चालक सनम तामाङ रहेका छन् । अन्य ६ जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धनकुटाका विष्णु मगर, भेषराज अधिकारी, आयुष थापा, मनिषा अधिकारी, विनोद घिमिरे, कला थापा, तेह्रथुमका छिरिङ शेर्पा, खगेन्द्र पौडेल, टंक भण्डारी, अनिता पौडेल, अनिता गुरुङ, धरानका मनोज पादोर, निरमाया गुरुङ, रमेश श्रेष्ठ, ताप्लेजुङकी निमा छिरिङ, संखुवासभाका भक्तबहादुर थापा, पुण्यलाल कटुवाल, रिसर्च पौडेल र हर्कमाया तामाङ लगायत ३१ जना घाइतेहरु रहेका छन् ।
उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । संखुवासभाको मुढशनिश्चरेबाट धरानतर्फ जाँदै गरेको बा २ ख ७३६६ नं. को बस दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको थियो । बस सडकबाट झण्डै ५० सय मिटर तल खसेर क्षतविक्षत भएको छ । बसमा ४१ जना यात्रु थिए ।
अनियन्त्रित गतिका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख भीम कटुवालले बताउनुभयो । कोशी राजमार्गसँग जोडिएको धनकुटा–चैनपुर सडक खण्ड अन्तर्गत चल्ने सवारीकालागि तेह्रथुमको बसन्तपुर बजारमा ट्राफिक चेक पोष्ट राखिएको छ ।
‘गाडी बसन्तपुरमै अनियन्त्रित गतिमा थियो’, ट्राफिक प्रहरी प्रमुख कटुवालले भन्नुभयो, ‘चेक पोष्टमा सवारी दर्ताका लागि पनि बस रोकेन ।’ चालकले द्रुत गतिकै कारण चेकपोष्टमा रोक्न भन्दाभन्दै पनि नरोकी हुँइकिएको प्रहरीले जनाएको छ ।
यात्रुले भरिएको बस अनियन्त्रित गतिमा गुडाएकै कारण दुर्घटना भएको हुनसक्ने घटना स्थल पुगेका प्रहरी सहायक निरीक्षक मोहन खतिवडाले बताउनुभयो । पहाडमा अधिकांश पुरानै गाडी गुड्छन्, उहाँले भन्नुभयो–द्रुत गतिमा गुडेको बस टर्निङ कटाउन नसकेर पनि दुर्घटना भएको हुनसक्छ । तर चालक आफैँ दुर्घटनामा परेको हुनाले ब्रेक फेल भएको हुनसक्ने अन्दाज ट्राफिक प्रहरीको रहेको छ ।
दुघर्टनामा परेको मृतक र घाइतेलाई नेपाली सेनाको श्री मेहर गण धनकुटा, जिल्ला प्रहरी कार्यालय, सिधुवा प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय बसन्तपुरका जवानहरुले र स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।
धनकुटा अस्पतालमा उपचार गराइरहेकी धनकुटा नगरपालिका वडा नं. १० की कमला पोखरेल संखुवासभा र तेह्रथुमको संगमस्थल टुटे देउरालीबाट बसमा चढेकी थिइन । माइती घरबाट फर्कदै गरेकी कमलाले सिधुवाबजार नजिकै आएपछि गाडीमा कोलाहल मच्चिएको र एकै पटक डिल नघेर बाजारिएको बताउनु भयो । हातखुट्टा र अनुहारमा चोट लागेकी पोखरेलले नयाँ जीवन पाएको बताउनु भयो । गाडीको ब्रेकफेल भएपछि नालीमा हाल भनेर कराएको सुनेकी पोखरेलले  बसले डिलकटे पछि केही थाहा नपाएको बताउनु भयो ।
Share To:

तपाईको प्रतिक्रिया :