SOURCE:नारायण अधिकारी/उज्यालो

काठमाडौं, असार ३० – मान्छे बाँच्नका लागि के चाहिन्छ ? हावा, पानी, खाना, बास यस्तै जवाफ आउला । तर अचम्म यसमा अब प्लाष्टिक पनि थप्नु पर्ने भएको छ । हो २१ औं शताब्दीका चेतनशील प्राणी मान्छे प्लाष्टिक बिना बाँच्नै नसक्ने भइसके ।
यसैले होला केही समय अघि चामलसमेत प्लाष्टिककै बनाएको चर्चा सुनियो । मानिसहरु भन्थे ‘खायो पचायो पखाल्यो अनि फेरि खायो ।’ यो कल्पना यथार्थ बनिसकेको त छैन । तर मान्छे प्लाष्टिक बिना बाँच्नै नसक्ने भइसक्यो ।
बिहान जुरुक्क उठ्नासाथ प्रयोग गरिने ब्रस ल्याष्टिकको । ओठमा लगाउने लिपिष्टिक प्लाष्टिकको । जुत्तामा लगाउने पोलिस प्लाष्टिकको । घरयासी भाँडावर्तनदेखि दैनिक जीवनमा प्रयोग हुने धेरैजसो समान प्लाष्टिकको हुनछ । हुँदा हुँदा आरामदायीसँग बस्ने कुर्सीदेखि बिरामी हुँदा खाने औषधिसम्म प्लाष्टिकका छन् ।
एसियाली विकास बैंकको एक प्रतिवेदन अनुसार एक नेपालीबाट प्रतिव्यक्ति प्रतिदिन खेर जाने प्लास्टिकको मात्रा १२० ग्राम छ । त्यस हिसाबले दुई करोड ८० लाख नेपालीबाट ३३ लाख ६० हजार ग्राम प्लाष्टिक दैनिक खपत हुने गरेको छ । प्लाष्टिकको व्यापार हरेक वर्ष १५ प्रतिशतका दरले बढेको तथ्याङक छ । मानिसले प्रयोग गर्ने प्लाष्टिकका सामानहरुमा पहिला काईंयो बनेको हो । सन् १८६५ मा बेलायतले प्लाष्टिकबाट बनेको काईंयो प्रयोगमा ल्याएको थियो । त्यसपछि प्लाष्टिकजन्य सामानको विकासमा क्रान्ति नै आएको पेड बोतल एण्ड क्लोजर एशोसियसनका अध्यक्ष भरत आचार्यले बताउनुभयो ।
यसरी बन्ने सम्पूर्ण प्लाष्टिकका सामानहरुको मुल रुप इन्धन वा पेट्रोल हो । इन्धन खानीबाट पहिला हवाई इन्धन निकालिन्छ । त्यसपछि पेट्रोल, मट्टितेल, डिजेल बन्ने गर्छ । डिजेल बनिसकेपछिको बाइप्रोडक्ट नै प्लाष्टिक हो ।
पेट्रोलको बाइप्रोडक्ट प्लाष्टिक
हामीले प्रयोग गर्ने सम्पूर्ण प्लाष्टिकका सामानहरु पेट्रोलबाट नै बनेका हुन । यसको प्रमाणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले केही समय पहिला प्लाष्टिकबाट तेल पनि निकालेर प्रमाणित गरिसकेको छ । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले जैविक प्रविधिमा आधारित प्लास्टिकबाट तेल उत्पादन सुरु गर्ने प्रविधि भित्र्याएको थियो ।
नास्टले तीन महिनाको अनुसन्धान र परीक्षण गरेर प्लाष्टिकबाट १५ लिटर पेट्रोलियम पदार्थ उत्पादन गरेको जनाएको थियो । यसबाट पनि प्रष्ट हुन्छ कि प्लाष्टिक पेट्रोलको बाइप्रोडक्ट हो । अर्कोतर्फ प्लाष्टिकका समानहरु पनि आगोले भेट्ने बित्तिकै डिजेल पेट्रोल बले जसरी नै बलेकाले पनि प्लाष्टिक पेट्रोलकै बाइप्रोडक्ट हो ।

कसरी बन्छ प्लाष्टिक ?
प्लाष्टिक दुईवटा तरिकाबाट बन्छ । एउटा तरिका पेट्रोलको बाइप्रोडक्ट र अर्को बायोप्लाष्टिक हो । पेट्रोल उत्खनन्को दुईवटा उदेश्य हुन्छ । पहिलो पेट्रोलको प्रयोग र अर्को इथानियल हो । जति पेट्रोल निस्कन्छ त्यसको जम्मा तीन प्रतिशत मात्र इथानियल निस्कने अध्यक्ष आचार्यले बताउनुभयो । त्यही इथानियलबाट नै प्लाष्टिक बन्ने उहाँले बताउनुभयो । यसलाई पेट्रोलको बाइप्रोडक्टको रुपमा लिइन्छ ।
अर्को बायो प्लाष्टिक हो । यो प्लाष्टिक कुहिने खालको हुन्छ । विभिन्न जातका बोट बिरुवाबाट यस किसिमको प्लाष्टिक बनाइन्छ  । बायो प्लाष्टिक भर्खर आएको हो । यो नेपालमा प्रयोग भएको छैन ।
कसरी बन्छ प्लाष्टिकका बोतल ?

प्लाष्टिकका बोतल बनाउन कच्चा पदार्थ पेट्रोल रिफाइनरी गर्ने देशबाट ल्याइन्छ । जस्तो कि कतार, युएइ, साउदी अरब, सिंगापुर, इन्डोनसिया, भारतलगायतका पेट्रोल रिफाइनरी भएका देशबाट नेपालमा प्लाष्टिक ल्याउने गरिन्छ । सुरुमा ल्याउँदा मसिना दाना हुन्छन् ।
दानालाई इन्जेक्शन मोडलिङ टेक्नोलोजी प्रविधिमार्फत दुई सय डिग्री सेन्टीगे्रडमा पगालेर तरल बनाइन्छ । यो तीन डिग्री सेन्टीगे्रडमा चिसो हुन्छ । चिसो हुनुभन्दा अगाडि यसलाई प्रिफममा रुपान्तरण गरिन्छ । प्रिफम भन्नाले बोतल बन्नुभन्दा अगाडिको बोतलको जस्तै आकृतिको स्वरुप हो । प्रिफम बनिसकेपछि ब्लो मोडलिङ टेक्नोलोजी अनुसार विभिन्न साइजका बोतल बन्छन् ।
यो टेक्नोलोजीमा प्रिफमलाई करेन्टबाट ताप दिएर तताइन्छ । तातिसकेको प्रिफमलाई त्यही साइज वा आकारको बोतलको फर्ममा राखिन्छ । त्यसपछि ब्लो मोडलिङ मेशिनले प्रिफममा हावा भरिसकेपछि प्रिफम फुकेर बोतल बन्ने पाटन औधागिक क्षेत्रमा मिनिरल वाटरको बोतल उत्पादन गर्दै आउनुभएका सरोज भुसालले बताउनुभयो । एउटा मिनिरल वाटरको बोतल बन्न जम्मा साढे तीन सेकेन्ड मात्र लाग्ने गर्छ । यसरी उत्पादन गरेको एउटा मिनिरल वाटको बोतलको मूल्य सबै खर्च जोड्दा जम्मा साढे तीन रुपैयाँ मात्र पर्ने भुसालले बताउनुभयो । एकपटक बनाइसकेको बोतलबाट फेरि खानाका परिकार राख्न मिल्ने बोतल बनाउन मिल्दैन ।

Share To:

तपाईको प्रतिक्रिया :