सर्वोच्च अदालतमा १३ वर्ष सेवा गरेकी एक महिलाले बुधबार एकाएक न्याय पाएकी छिन्— अवकाश र लगत्तै प्रहरी हिरासत । मुलुकमा पहिलोपटक महिला प्रधानन्यायाधीशले कार्यभार समालेको १० दिन नबित्दै सर्वोच्चमा अविछिन्न करारमा कार्यालय सहायकका रूपमा कार्यरत सरिता गौलीलाई रजिस्टार श्रीकान्त पौडेलले बुधबार बिहान अवकाशपत्र थमाए । गौलीको अनुनयविनय र विरोधपछि उनी प्रहरी हिरासतमा पुगिन् ।
झापा घर भई कपन बस्दै आएकी गौली सदाझै बुधबार बिहान हाजिर गर्न फाँट पुगिन् । त्यहाँका फाँटवालाले ‘आजदेखि तिमीहरूको जागिर गइसक्यो, हाजिर गर्न पाउँदैनौ' भन्दै हाजिर गर्न दिएनन् । त्यसपछि गौली रजिस्टार पौडेलकहाँ पुगिन् र सोधिन्, ‘मलाई किन हाजिर गर्न दिइएन ? मैले के गल्ती गरें ? अब मैले परिवार कसरी पालुँ ? ' रजिस्टार पौडेलले भने, ‘तिमीलाई मात्र होइन, सातजना अन्य महिलालाई मैले निकालेको छु, मैले आफ्नो अधिकार प्रयोग गरेको हुँ ।'
गौलीले आफन्तलाई दिएको जानकारीअनुसार पौडेलको आदेशलगत्तै रजिस्टारको टेबुलमा रहेको पेपर कटर उठाउँदै उनले भनिन्, ‘यो जागिरबाहेक मेरो अरू बाँच्ने आधार केही छैन, त्यसो भए म यही ब्लेडले चिरेर आत्महत्या गरिदिऊँ त ? ' पौडेलले गौलीलाई बाहिर जान आदेश दिए । गौली मानिनन् र त्यहीं बसिरहिन् । त्यसपछि पौडेलले कक्ष बाहिर रहेका प्रहरीलाई बोलाई गौलीलाई लैजान आदेश दिए ।
रजिस्टारको कोठामा आइपुगेका प्रहरी र गौलीबीच तानातान भएपछि गौलीको हातमा रहेको पेपर कटरले एकजना प्रहरीको हातमा समेत चोट लागेको बताइएको छ । घटनापछि गौलीकी दिदी मनमायाले बहिनीलाई ‘न्याय दिलाउन' दौडधुप सुरु गरेकी छन् । ‘पूर्वजानकारी नदिई बहिनीलाई जागिरको म्याद सकियो भनेर हाजिर गर्न दिइएन । रजिस्टारसँग गुनासो गर्न पाउनु कर्मचारीको नाताले अधिकार पनि हो तर न्यायकै घरमा त्यो शोभनीय काम भएन,' मनमायाले भनिन् ।



तपाईको प्रतिक्रिया :