काठमाडौं – यूरोपियन युनियन (ईयु) बाट बेलायत बाहिरिने घोषणासँगै अन्तर्राष्ट्रिय स्तरमै लगानीकर्ता सुरक्षित लगानीको वाटोतिर लाग्दा उकालो लागेको सुनको भाउले ऐतिहासिकता कायम गर्ने देखिएको छ । अन्तर्राष्ट्रिय बजार मुल्यकै कारण नेपाली बजार प्रभावित हुँदा सुनको भाउमा उत्तरचढाव देखिएको हो ।

केही दिन अघि बेलायत ईयुबाट बाहिरिने घोषणाकै कारण अन्तर्राष्ट्रिय बजारमा एकैदिन सुनको मूल्य प्रतिऔंश १ सय डलरले बढेको थियो । लगानीकर्ता सुनलाई सबैभन्दा सुरक्षित लगानीको क्षेत्रका रुपमा लिने गर्छन् । सोही कारण लगानीकर्ता सुनमा ओइरिएपछि अघिल्लो दिन प्रतिऔंश १ हजार १ सय डलरमा कारोवार भएको सुन १ हजार ३ सय डलर पुगेको थियो । यसको प्रत्यक्ष प्रभावले नेपाली बजारमा सुन प्रति तोला ३ हजार रुपैयाँ बढेको थियो । अहिले (सोमवार) यो बर्षकै दोस्रो ठूलो भाउमा सुनको कारोवार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाल सुन ५८ हजार ९ सय रुपैयाँ पुगेको हो ।

नेपाली बजारमा अहिलेसम्म सबै भन्दा बढी प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा सुनको कारोवार भएको छ । तर, यसपटक त्यो इतिहासलाई पनि तोड्नेक्रम रहेको जानकारहरु बताउँछन् । करिब ३ बर्ष अघिको यो मुल्यले रेकर्ड तोड्ने अनुमानकै कारण कारोबार समेत ह्वात्तै घटेको छ । यो सिजनमा दैनिक २० किलोसम्म किनवेच हुने सुन अहिले आधा कम भएको छ । अहिले दैनिक १० किलोको हाराहारीमा कारोवार भईरहेको महासंघले जनाएको छ । जेठमा सवै भन्दावढी प्रतितोला ५६ हजार ६ सय पुगेको सुनको भाउ बैशाखमा भने अधिकतम् ५७ हजार रुपैयाँमा कारोवार भएको थियो ।


एक बर्षमा ८ हजार बढ्यो

एकबर्ष अघिको मुल्यका आधारमा भने सुन भाउ प्रतितोला ८ हजार रुपैयाँ वृद्धि भएको छ । ०७२ असार २० गते (आजकै दिन) नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ५० हजार ९ सय रुपैयाँ थियो । आज यो भाउ ५८ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको भाउमा पनि ऐतिहासिक वृद्धि देखिएको छ । गत बर्ष असार २० गते चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँ थियो भने अहिले ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, गत बर्षको चैतमा अधिकतम् ५२ हजार ३ सय असरमा अधिकतम् मुल्य ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै, गत बर्षको सबै भन्दाबढी कारोवार हुने सिजन फागुनमा अधिकतम् प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।


बजार अन्योलपूर्ण : व्यवसायी

सुनचाँदी व्यवसायीले भने अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने भएकाले नेपाली बजारमा सुनको भाउ कतिसम्म बढ्छ भन्ने अनुमान लगाउन गाहे भएको बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य अहिलनै केही भन्न सकिने अवस्था नरहेको बताउँछन् । ‘इयुवाट वेलायत बाहिरीने पक्का पक्की भएमा सुनको भाउ ऐतिहासिक रुपमा महंगो हुनेछ’, उनले भने, ‘यदि त्यो अवस्था नआएमा केही कम हुदै जाने छ ।’

इयुमा निर्भर भाउ

बेलायत इयुवाट बाहिरिएमा भने सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमै ऐतिहासिकता लिने पक्कका पक्की भएको छ । अहिलेसम्मको अवस्थालाई हेर्दा यो करिव करिव नजिक पुगिसकेको छ । लगानीकर्ताले सुनमा आकर्षण बढाएपछि यो अवस्था आएको हो । अझ वेलायतको निर्णयपछि भने लगानीकर्ता सुरक्षित लगानीका लागि सुन खरिदमा लाग्ने देखिएको छ । संसरभरनै लगानीकर्ताले सुनलाई सबैभन्दा सुरक्षित लगानीको क्षेत्र मान्ने गरेका छन् ।
source:ratopati

Share To:

तपाईको प्रतिक्रिया :