आश्रित विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा कुरा मिल्न नसकेपछि प्याकेजमै सहमति खोज्न भन्दै शीर्ष दलहरु शुक्रवार पनि छलफलमा जुटेका छन् । दलहरुबीच सहमति जुट्न नसकेपछि हिजो स्थगित गरिएको संसद बैठक शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको छ ।संसद बैठक अघि प्याकेजमै सहमति जुटाउने प्रयास स्वरुप दलहरु बिहानैदेखि पार्टी्भित्र आन्तरिक छलफलमा जुटेका छन् । पार्टी्भित्रको छलफल सकिएपछि संसद बैठक बस्नु अघि दुई पक्षीय र त्रिपक्षीय छलफल हुनेछ ।

यसअघि बिहीबार शीर्ष दलबीच भएको छलफलमा कांग्रेस नेता रामचन्द्र पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राखेका थिए । पौडेलको प्रस्तावले नयाँ तरंग पनि पैदा गरेको छ ।
प्रमुख दलबिच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट अर्थात प्याकेजमै सहमति गर्नुपर्ने पौडेलको प्रस्ताव सकारात्मक रहेको सरकारको नेतृत्वकर्ता दल एमालेले प्रतिक्रिया दिएको छ । सभामुख ओनसरी घर्ती मगरले संसदमा अविश्वासको प्रस्तावको सूचना दर्ता भइसकेको र यसअघिको मान्यतालाई मनन गर्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेर बैठक आह्वान गरेपछि दलहरुबीच ध्रुविकरण सुरु भएको हो । संसदको कार्यसूचीलाई लिएर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र–कांग्रेस गठबन्धनबीच विवाद उत्पन्न भएपछि संसद वैठक स्थगित भएको थियो ।
सरकार पक्षीय दलहरुले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित भएपछि मात्रै अन्य विषयमा छलफल गर्नु पर्ने अडान राखेको छ । तर, माओवादी–कांग्रेस गठबन्धनले भने प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनु पर्ने अडान राखेका छन् । एमालेले बजेटसम्बन्धी आश्रित विधेयक पारित गर्ने यसअघिको एजेन्डालाई कार्यसूचीबाटै हटाएको र बिहीबार बस्ने संसद बैठकमा उक्त विषयलाई कार्यसूचीमा नराखेर वैठक सुरु गरे संसद चल्न नदिने चेतावनी दिँदै आएको छ ।


तपाईको प्रतिक्रिया :