नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेले आफूहरुलाई राष्ट्रवादको कुरा सिकाउन नमिल्ने बताए ।
आईतबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पुनले भने,‘हामीलाई एमालेले राष्ट्रियताको कुरा सिकाउनुपर्दैन, हिजोका दिनमा राष्ट्रवादको पक्षमा सुरुङ युद्धको उद्घोष गर्ने हामी नै हौं, हस्तक्षेप भयो भन्दै सरकारबाट राजिनामा दिनेपनि हामी नै हौं, त्यसैले हामीलाई कसैले राष्ट्रवादको पाठ नपढाए हुन्छ ।’ उनले एमालेको राष्ट्रवादमा नेपालकै मधेशी, आदिवासी, जनजाति, पिछडिएका वर्गहरु नअटाएको आरोप लगाए ।
साक्षात्कारमा पुनले भने,‘‘आजको भूमण्डलीय विश्वमा आफ्नो मुलुकको राष्ट्रियता जोगाउन हामी कटिबद्ध छौं, कसैले विदेशीको पछि लाग्यो भन्छ भने त्यो भावनामा बग्ने काम मात्रै हो, त्यो हल्लाको पछि लाग्नु जरुरी छैन ।’’
एमालेले आफ्नो पार्टीसँग गरेका १४ बुँदे, ९ बुँदे र ३ बुँदे भद्र सहमति कार्यान्वयन नगरेको गुनासो गर्दै भने,‘हामीले सँधैभरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन भोट माँगेका होईनौं, हाम्रा केही साथीहरुलाई झण्डा नपाएर सरकारमा पठाएका होईनौं ।’ उनले आफूलाई लोकतन्त्रवादी ठान्ने प्रधानमन्त्रीले नैतिकता प्रर्दशन नगरेपछि बाध्य भएर अविश्वासको प्रस्ताव पेश गरेको स्पष्ट पारे । उनले थपे,‘प्रधानमन्त्रीले लोकतान्त्रिक मुल्य र मान्यता र सामान्य राजनीतिक नैतिकता समेत देखाउनुभएन् ।’
Share To:

तपाईको प्रतिक्रिया :