SOURCE:नारायण अधिकारी/उज्यालो ।
काठमाडौं, साउन १४ – बाघ किन शिकार गरिन्छ ? सहज उत्तर आउन सक्छ छाला तथा बंगारा बिक्री गर्न वा औषधी बनाउन । तर बाघको शिकार गर्नुको कारण यतिमै मात्र सीमित छैन । बाघ धेरै कामका लागि प्रयोग गरिन्छ ।
सबैभन्दा बढी बाघ खपत हुने देश चीन हो भने सबैभन्दा बढी बाघ पाइने देश भारत हो ।  विश्वमा भएका बाघमध्ये ७० प्रतिशत बाघ भारतमा छन् । नेपाल सबैभन्दा बढी बाघ पाइने र बढी बाघ खपत हुने देशको बिचमा छ । नेपाललाई ट्रान्जिट बनाएर बाघको तस्करी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
किन गरिन्छ त यसरी बाघको तस्करी ? चीनमा परम्परागत तरीकाबाट उपचार गर्ने एउटा विधि छ । जसका लागि बाघ अनिवार्य हुन्छ र त्यसका लागि बाघको शिकार हुने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका डिएसपी प्रविण पोखरेलले जानकारी दिनुभयो ।
बाघको हरेक भाग प्रयोग गरिन्छ । चीनमा बाघको छाला घरमा सजाएर राख्ने गरिन्छ । हुनेखानेले बाघको छालाका विभिन्न ट्र्फी बनाएर सजाएर राख्ने गरेका छन् । चीनमा प्रतिष्ठित तथा धनी मान्छेले सभा समारोहमा जाँदा बाघको छाला ओढ्ने गरेकाले पनि चीनमा बाघको माग बढी भएर तस्करी भएको डिएसपी पोखरेलले बताउनुभयो । त्यस्तै चीनमा बाघको हड्डीबाट रक्सी बनाएर खाने गरेको पनि बताइन्छ ।
तर पश्चिमा देशहरुमा बाघको छालाभन्दा पनि हड्डीको माग बढी हुने गरेको छ ।  ‘पश्चिमाहरुले बाघको हड्डीको सुप खान थालेका छन् । न्युयोर्कमा एक कप सुपको मात्र पाँच सय डलर पर्छ भन्नु सुनेको छु’ डिएसपी पोखरेलले भन्नुभयो । यसरी विभिन्न प्रयोजनका लागि बाघको प्रयोग हुने भएकाले बाघको शिकार बढेको उहाँको भनाई छ । बाघको सुप शोख र शक्तिका लागि खाने गरेको बताइन्छ । सेक्स पावर बढाउनका लागि बाघको हड्डीलाई उमालेर सुप बनाएर खाने गरेका हुन् ।
यस्तो छ नेपालमा बाघ सम्बन्धीका अप्रेशन
नेपाललाई ट्रान्जिट बनाएर वन्यजन्तुको छाला एवं आखेटोपहार ठूलो मात्रामा व्यापार हुने गरेको अनुसन्धान व्यूरोले जनाएको छ । नेपालमा बाघको शिकार हुने भन्दा पनि भारतमा शिकार गरेर नेपाल हुँदै बाहिर तस्करहरुले लाने गरेको व्यूरोले जनाएको छ । ‘गएको वर्ष हामीले १५ वटा बाघको छाला बरामद गरेका थियौं । जसमा चारवटा मात्र नेपालको बाघ थिए अरु भारतीय बाघका हुन्’ डिएसपी पोखरेलले भन्नुभयो ‘नेपालमा पहिलाको तुलनामा बाघ तस्करी कम भएको छ ।’
बाघको शिकार रोक्न प्रहरीले बेला बेलामा अप्रेशन चलाउने गरेको छ । गएको वर्ष बर्दिया करिडोरका लागि ब्यूरोले वाइल्ड इगल अप्रेशन चलाएको थियो । त्यसबेला प्रहरीले २५ जना अपराधी समाएको थियो भने अरु धेरै अपराधीले आत्मसमर्पण गरेका थिए । बर्दिया राष्ट्रिय निकुञ्जका मात्र फरार झण्डै दुई सय अपराधीमध्ये प्रहरीले एक सय ११ जनालाई पक्राउ गरिसकेको जनाएको छ ।
यसरी बाघको शिकार गर्नेहरु मध्ये ६० प्रतिशत भन्दा बढी बन्जारन समुदायका रहेको व्यूरोका डिएसपी पोखरेलले बताउनुभयो । उनीहरुले बन्दुकको प्रयोग गरेर भन्दा पनि पासो थापेर, विष हालेर, भाला तथा खुँडाको प्रयोग गरेर बाघ मार्ने गरेको प्रहरीले जनाएको छ । बन्जारनलाई भारतमा बाबरीया भनिन्छ । बन्जारनले बाघ मार्ने र भारतीयसँग नेपालीले किन्ने र चीन पु¥याउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
बाघको संरक्षणका लागि अरु वर्ष जस्तै यो आर्थिक वर्षमा व्यूरोले अप्रेशन टाइगर सञ्चालन गर्ने भएको छ । ‘यस अन्तर्गत हामीले बाघ मार्ने, व्यापारमा सहयोगी भूमिका निभाउने, व्यापार गर्ने, र खपत गर्ने व्यक्तिको सूची गरेका छौं’ डिएपी पोखरेलले भन्नुभयो ‘तिनीहरुलाई खोजी खोजी कानुनी दायरमा ल्याउँछौं ।’
कानुनमा के छ ?
वन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धि १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार देखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
वन्यजन्तुका अपराधी धमाधम पक्राउ पर्दै
आर्थिक वर्ष २०७८–६८ व्यूरोले गरेका १० वटा अप्रेशनमा ४० जना वन्यजन्तुका अपराधीलाई पक्राउ गरेको थियो । २०६८–६९ मा भएका २२ वटा अप्रेशनमा ५९ जनालाई अपराधी पक्रेर प्रहरीले एकपछि अर्को सफलता हात पार्दै गएको थियो । त्यस्तै २०६९–७० भएका ३२ वटा अप्रेशनमा ६० जना अपराधी पक्राउ परेको प्रहरीले जनाएको छ ।
२०७०–०७१ मा भएका २७ वटा अप्रेशनमा ६३ जना २०७१–०७२ मा भएका ३७ वटा अप्रेशनमा ८५ जना पक्राउ परेका थिए । चालु आर्थिक वर्षमा अहिलेसम्म भएका ४७ वटा अप्रेशनमा एक सय ९ जना वन्यजन्तु अपराधीहरु पक्राउ परिसकेको तथ्यांक व्यूरोमा छ ।
को हुन् बन्जारन ?
कोही आफन्त मर्यो भने उसलाई खुसी पार्न जंगली जनावर मार्ने समुदाय हो बन्जारन । बन्जारनको उदय युरोपबाट भएको हो । झण्डै २३ वर्ष अगाडि बन्जारन अफगानिस्तानबाट भारत छिरेको बताइन्छ ।
वनमा बस्ने र जंगली जनावरको सिकार गर्ने भएकाले यिनीहरुलाई बन्जारन भनिएको हो । उनीहरु निकै बलिया र निडर हुन्छन् । वनमा बस्ने भएकाले पनि हुन सक्छ यिनीहरु कहिल्यै पुरै लुगा लगाउँदैनन् । तिव्र गतीमा दौडने बन्जारनको पेशा नै जंगली जनावर मार्ने र बच्ने रहेको केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी प्रविण पोखरेलले बताउनुभयो ।
बन्जारनले नंग्रा भएका जंगली जनावरको मात्र सिकार गर्ने डिएसपी पोखरेलले बताउनुभयो । यिनीहरु जंगलमा फिरन्तेको रुपमा बस्छन् । यिनीहरुले आफ्नो शिकार गरेपछि खुसियालीमा बोका काटेर भोज लगाउने गरेको सिआइबीले जनाएको छ । बाघको शिकार भएकामध्ये ६० प्रतिशत बन्जारनले नै मार्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :