भलिबलकी पूर्वखेलाडी एवं बाँके जिल्ला भलिबल संघकी कार्यसमिति सदस्य रमा भण्डारीको सोमबार राति निधन भएको छ ।
३५ वर्षीया रमाको भारतीय सहर लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब १० बजे निधन भएको हो । निरन्तर ज्वरो आएपछि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकी रमालाई त्यहाँबाट एक साताअघि सामरा अस्पताल रिफर गरिएको परिवारका एक सदस्यले बताए ।
उनमा मेनेन्जाइटिसको लक्षण देखिएको रमाकै उपचारका लागि लखनउ पुगेका कोहलपुरका पत्रकार श्रीधर पौडेलले जानकारी दिए । दिवंगत खेलाडी रमाको मंगलबार बिहान सिक्टा सिँचाइ नजिक अगैयाघाटमा अन्तिम संस्कार गरियो ।
अन्तिम श्रद्धाञ्जलिका लागि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, उपाध्यक्ष नरेन्द्र थापा, बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी, उपाध्यक्ष चिरञ्जीवी चन्द, उपाध्यक्ष गोविन्द पौडेल, भलिबलकै पूर्वखेलाडी दामोदर भण्डारी, आइस हक्की संघ बाँकेका उपाध्यक्ष खगेन्द्र शाहीलगायत विभिन्न शिक्षण संस्थाका प्रमुखहरू गरी सयौंको संख्यामा शुभेच्छुक अगैयाघाट पुगेका थिए ।
कोहलपुर न्युरोड निवासी रमाका श्रीमान् दिलीप केसी मध्यपश्चिम केवलका सञ्चालक हुन् । उनीहरूका एक छोरा छन् । बाँके जिल्ला भलिबल संघले रमाको निधनले बाँकेको मात्र नभई सिंगो नेपालको भलिबलमा अपूरणीय क्षति पुगेको जनाएको छ ।
‘नेपालको भलिबलमा स्तरका हिसाबले नम्बर एक प्रतियोगिताका रूपमा स्थापित प्रधानमन्त्री कप महिला भलिबल आयोजक समितिकी सक्रिय सदस्य रमाको निधनले भलिबलको अभियानलाई ठूलो क्षति पुर्याएको छ’, जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने ।
अन्नपूर्ण पोस्ट बाट



तपाईको प्रतिक्रिया :