काठमाडौं,२७ साउन । नेविसङ्घको ११ औँ महाधिवेशनको बन्दसत्र बिहीबारदेखि सुरु हुँदैछ । बिहीबार प्रतिनिधिको नामावली मात्रै प्रकाशित हुने नेविसंघले जनाएको छ ।


यसअघि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको बन्दसत्र भने कांग्रेस पार्टी कार्यालय सानेपामा हुने भएको छ । भृकुटीमण्डपमा मंगलबारसम्मको लागि मात्रै बुकिङ गरेको र फेरि ठाउँ नभएपछि सानेपामा गर्न लागिएको नेविसंघले जनाएको छ । प्रतिनिधि विवाद समाधान भएपछि बन्दसत्र सुरु हुन लागेको हो ।

शुक्रबार उम्मेदवारी दर्ता र शनिबार नयाँ नेतृत्वको लागि चुनाव गर्ने तयारी छ । नेविसङ्घको नयाँ केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १ सय ५१ सदस्यीय हुने गरी विधानमा सहमति भएको छ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एकरएक जना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने समितिले जानकारी दिएको छ ।

त्यस्तै, दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एकएक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ । त्यस्तै, एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

यस्तै १२ औँ महाधिवशेनबाट हुनेगरी सङ्घमा ३२ वर्षको उमेर हद लागु हुनेछ । त्यस्तै सङ्घमा अब ‘एक व्यक्ति एक पद’को अवधारणा अनिवार्य रूपमा लागु हुनेछ ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नभए तीन महिनापछि स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ ।
Share To:

तपाईको प्रतिक्रिया :