श्रावण २५, २०७३- पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटाको एक अस्पतालमा सोमबार आतंकवादीले गराएको आत्मघाती विस्फोटमा कम्तीमा ७० जनाको मृत्यु भएको छ । एक सय ५० भन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांशको स्थिति गम्भीर छ ।

अस्पतालमा विस्फोट गराउनुभन्दा केहीअघि बलुचिस्तान राज्यका लोकप्रिय वकिल बिलाल अन्वर कासीको गोली हानी हत्या भएको थियो ।

उनको शव क्वेटाको सिभिल हस्पिटल पुर्‍याउने क्रममा आकस्मिक कक्षको प्रवेशद्वारमा स्थानीय समयअनुसार बिहानको साढे ९ बजे बम विस्फोट गराइएको थियो । कासी बलुचिस्तान बार एसोसिएसनका अध्यक्षसमेत हुन् । उनको शव लगिएको जानकारी पाएर अस्पताल पुगेका वकिल र पत्रकारहरू आक्रमणको मुख्य निसाना बनाइएका छन् । घरबाट सर्वोच्च अदालत भवनतर्फ गइरहेका कासीलाई दुई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।

बमसँगै गोलाबारीसमेत गरिएको थियो । आक्रमणकारी को हुन् भन्ने अझै खुलेको छैन । पाकिस्तानमा केही समययता बुद्धिजीवी र पेसाकर्मी आतंकवादीको निसाना बन्नेक्रम बढेको छ । त्यसैको शृंखलाका रूपमा यसलाई हेरिएको छ । कराँचीमा एक चिकित्सकको गोली हानी हत्या गरेको भोलिपल्ट बलुचिस्तानमा वकिलमाथि आक्रमण भएको हो ।

आक्रमणमा निधन भएकामध्ये कम्तीमा १८ जना वकिलको सनाखत भइसकेको छ । दुई टेलिभिजन पत्रकार मारिएको पुष्टि भए पनि अन्य कति जना सञ्चारकर्मी परे भन्ने प्रस्ट खुलेको छैन । बलुचिस्तान क्षेत्रमा पछिल्ला साता पृथकतावादी, साम्प्रदायिक र अपराधसँग सम्बन्धित आक्रमणमा धेरैको ज्यान गएको छ । गत साता क्वेटामा वकिल जहान्जेब अल्बीको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । बार अध्यक्ष कासीले उक्त घटनाको कडा विरोध गर्दै दुई दिन अदालतको सुनुवाइ बहिष्कार गरेका थिए । अन्तत: उनी नै मारिए ।

गएको जुनमा युनिभर्सिटी अफ बलुचिस्तान ल कलेजका प्रिन्सिपल अब्दुल्लाह आचाक्जाईको पनि गोली हानी हत्या गरिएको थियो । यस क्षेत्रको शान्तिका लागि सहकार्य गर्ने भन्दै इस्लामावादमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को गृहमन्त्री स्तरीय बैठक भएको केही दिनमै दक्षिण पश्चिम सहरमा बीभत्स आक्रमण भएको हो । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले यो घटनालाई पाकिस्तानले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिँदै आतंकवाद निर्मूल पार्न सबै एक भएर लाग्नुपर्ने उल्लेख गरेको छ । बलुचिस्तानका मुख्यमन्त्री सनाउल्लाह जेहरीले भने जिओ न्युज च्यानललाई अन्तर्वार्ता दिँदै आक्रमणमा भारतीय गुप्तचर निकाय ‘र’ को हात रहेको आरोप लगाएका छन् ।

बलुचिस्तान फरक–फरक आतंकवादी समूहले हिंसात्मक घटना बढाइरहेको राज्य हो । ‘राज्यको शान्ति खल्बल्याउन कसैलाई छुट छैन,’ पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भनेका छन् । पाकिस्तानी सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष सयद अली जफाले यसलाई ‘न्यायमाथिको आक्रमण’ संज्ञा दिएका छन् । बलुचिस्तान प्रदेशका मुख्यमन्त्री जेहरीले घाइतेलाई उत्कृष्ट उपचार सेवा प्रदान गरिने जानकारी दिएका छन् ।


Share To:

तपाईको प्रतिक्रिया :